images
images

नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

  • २७ भाद्र २०७९, सोमबार १८:१४

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनयता डेंगु संक्रमणबाट ८ जनाको मृत्यु भएको हो । चार जनाको डेंगु संक्रमणकै कारण मृत्यु भएको हो भने तीन जनालाई डेंगुसँगै दिर्घरोग पनि लागेको थियो । आज थप एक जनाको संक्रमणबाट मृत्यु भएको छ । सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या हेर्दा साउनयता ८ हजार ३ सय २७ जना डेंगुको चपेटामा परेका छन् । हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा देखिएको डेंगु संक्रमणबाट सबैभनदा बढी काठमाडौं उपत्यकाका जिल्ला प्रभावित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार साउनयता सबैभन्दा बढी बागमती प्रदेशमा ६ हजार २ सय ५ जना संक्रमित भएका छन् भने लुम्बिनी प्रदेशमा १ हजार २ सय ८४, प्रदेश १ मा २ सय ८२ जनामा डेंगु संक्रमण भएको छ । यस्तै सुदुरपश्चिम प्रदेशमा २ सय ६, गण्डकीमा १ सय ५०, मधेशमा १ सय ४४ जना र कर्णाली प्रदेशमा ५६ जनामा डेंगु संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएका थिए ।

यसैबीच, दाङमा डेंगु संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १४ राप्ती टोलकी ४० वर्षिया मायाकुमारी बिसिको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो । डेंगु संक्रमित महिला आजै अस्पताल भर्ना भएकोमा उनको आजै मृत्यु भएको प्रष्ठिानकी निर्देशक डा.प्रज्ञा बस्नेतले जानकारी दिनुभयो ।