हेटौँडा । बागमती प्रदेशमा ६४ जनामा हैजा पुष्टि भएको छ ।
गत साउनको पहिलो साताबाट फैलिएको हैजा हालसम्मको अवधिमा ६४ जनामा पुष्टि भएको हो । सबैभन्दा धेरै ललिपुरमा ५१ जना, काठमाडौंमा १२ जना र मकवापुरमा एक जनामा हैजा संक्रमण पुष्टि भएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हैजाका मुख्य लक्षण तथा चिन्हहरूमा पातलो चौलानी पानी जस्तो दिसा आउने वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुनेगर्छ । यो रोगबाट बच्न झिँगा लागेको, वासी, सडेगलेका, नपाकेका, चिसिएको खुला स्थानका खाद्यपदार्थ खानु हुँदैन ।
पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइ (विशेष गरी हातको सरसफाइ) तथा खानेकुराको सरसफाइलाई विशेष ध्यान दिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।