दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाको अन्तिम मतदाता संख्या टुंगो लागेको छ ।
निर्वाचन आयोगले गाउँपालिकामा १५ हजार ७१८ मतदाता रहेको जनाएको छ । गाउँपालिकामा ८ हजार १ सय १३ पुरुष र ७ हजार ६०५ जना महिला गरी कुल १५ हजार ७१८ जना मतदाताले मतदान गर्न पाउने भएका हुन् ।
गौरीशंकरको वडा नम्बर ५ सुरीमा सबैभन्दा बढी २ हजार ७८१ जना मतदाता रहेकोमा १४ सय ३ जना पुरुष र १३ सय ७८ महिला रहेका छन् ।
यस्तै, वडा नम्बर ९ गौरीशंकरमा सबैभन्दा कम ११ सय ४ जना मतदाता रहेकोमा ५६४ पुरुष र ५४० महिला रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार वडा नम्बर १ जुँगुमा ८०६ पुरुष र ७६७ जना महिला गरी कुल १५ सय ७३ जना मतदाता रहेका छन् । यस्तै वडा नम्बर २ मा ८९४ जना पुरुष र ८७० जना महिला गरी कुल १७ सय ६४ जना मतदाता रहेको कार्यालयका निमित्त प्रमुख विशाल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ३ झ्याँकुमा १९ सय ६३ मतदाता रहेकोमा १०४८ पुरुष र ९१५ जना महिला रहेका छन् ।
वडा नम्बर ४ मा १ हजार ३२ जना पुरुष र ९७४ जना महिला गरी कुल २००६ जना मतदाता रहेका छन् । वडा नम्बर ६ चंखुमा ६८७ जना पुरुष र ६७५ जना महिला गरी कुल १३६२ मतदाता रहेका हुन् । गौरीशंकरको वडा नम्बर ७ मार्बुमा १४ सय ५१ मतदाता रहेकोमा ७४९ पुरुष र ७०२ महिला रहेका छन् । वडा नम्बर ८ खारेमा ९३० पुरुष र ७८४ महिला गरी कुल १ हजार ७१४ मतदाता रहेको कार्यालयले जनाएको छ ।
२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गौरीशंकरमा १५ हजार ५५४ जना मतदाता थिए । मतदाता नामावली अद्यावधिकको क्रममा १६४ मतदाता थपिएका हुन् । उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा कूल मतदाता संख्या १५ हजार ७१८ देखिए पनि दावी विरोध भने नपरेको कार्यालयका निमित्त प्रमुख केसीले बताउनुभयो ।
यी हुन मतदान स्थल
मंसिर १६ गते उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा १२ वटा मतदान स्थल रहने भएको छ । गाउँपालिकाको वडा नम्बर १ मा यार्सा प्रावि च्यानडाँडा, वडा नम्बर २ मा सेतीदेवी आवि, छापडाँडा, वडा नम्बर ३ मा सर्सेपु आवि सर्सेपु, वडा नम्बर ४ मा गोरपाङ प्रावि झ्याँकु, वडा नम्बर ५ मा वडा कार्यालय भवन, ईविथानमा मतदातानस्थल तोकिएको छ ।
यस्तै, वडा नम्बर ६ मा चंखु स्वास्थ्य चौकी, जयन्तीपुर, वडा नम्बर ७ मा हिमवर्ती मावि मार्बुमा १/१ वटा र वडा नम्बर ८ मा खारे मावि खारे, छेसाखारे आवि छेसाखारे गरी दुई वटा र वडा नम्बर ९ मा साविक वेदिङ प्रावि, रोल्वालिङ, सिमिगाउँ प्रावि गुम्बाडाँडा सिमिगाउँ र टासिनाम आ.वि टाँसीनाम गरी ३ वटा मतदानस्थल तोकिएको हो ।
यस्तै, उपनिर्वाचनमा २१ वटा मतदान केन्द्र रहनेछन् । जसअनुसार वडा नम्बर १ देखि वडा नम्बर ४ सम्म २/२ वटा, वडा नम्बर ५ मा ३ वटा, वडा नम्बर ६ र ७ मा २/२ वटा, वडा नम्बर ८ र ९ मा ३/३ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।