images
images

दोलखाका ७ पत्रकार महासँघको चुनावी मैदानमा

दोलखा । नेपाल पत्रकार महासँघको केन्द्रीय समिति र प्रदेश समितिको नयाँ नेतृत्वका लागि दोलखाका ७ जना पत्रकार चुनावी मैदानमा रहेका छन् ।

केन्द्रीय समितिमा ३ र प्रदेश समितिमा ४ गरी ७ पत्रकार चुनावी मैदानमा उत्रिएका हुन् । जसअनुसार रमेश खतिवडा महासँघको खुल्ला केन्द्रीय सचिवको उम्मेदवार बनेका छन् । खतिवडा यसअघि महासँघको केन्द्रीय सदस्य रहेका थिए ।

महासँघको केन्द्रीय सदस्यमा अल्पसंख्यक कोटाबाट लक्ष्मण थामीको उम्मेदवारी परेको छ । उनी यसअघि पनि सोही पदमा उम्मेदवार बनेर पराजित भएका थिए । उनीहरु दुवै जना प्रेस चौतारी र प्रेस युनियनको प्यानलबाट उम्मेदवार बनेका हुन् । दोलखा घर भई काठमाडौँमा पत्रकारिता गरिरहेकी मनुका कुँवरले पनि एसोसियट तर्फबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएकी छिन् ।

यस्तै, प्रदेश समितिको नयाँ नेतृत्वका लागि दोलखाका चार पत्रकारको उम्मेदवारी परेको छ । पत्रकार श्यामप्रसाद खतिवडा बागमती प्रदेश समिति खुल्ला सचिवको उम्मेदवार बनेका हुन् । चौतारी र युनियनका गठबन्धनबाट उम्मेदवार बनेका उनी यसअघि बागमती प्रदेश समितिको सदस्य रहेका थिए ।

यसैगरी, प्रेस सेन्टर नेपालसहित प्रेस सम्वद्ध ६ संगठन र स्वतन्त्र पत्रकारको साझा प्यानलबाट भने पत्रकार सन्तोष भुजेल र गौतम जिरेलको उम्मेदवारी परेको छ । भुजेलले बागमती प्रदेश समितिको कोषाध्यक्षमा उम्मेदवारी दिएका हुन् । भुजेल यसअघि महासँघको प्रदेश समिति सदस्य रहेका थिए । नेपाल पत्रकार महासँघ दोलखा शाखाका कार्यसमिति सदस्य रहेका जिरेल भने अल्पसंख्यक कोटाबाट बागमती प्रदेश समिति सदस्यको उम्मेदवार बनेका छन् । दोलखाबाट प्रेस सेन्टर नेपालसहित प्रेस सम्वद्ध ६ संगठन र स्वतन्त्र पत्रकारको साझा प्यानलबाट दुई पत्रकारकोे उम्मेदवारी परेको हो ।

अल्पसंख्यक कोटाबाट बागमती प्रदेश समिति सदस्यमा युनियन र चौतारीको गठबन्धनबाट राजन थामीले पनि उम्मेदवारी दिएका छन् ।