images
images

दोलखाका १० सहित बागमती प्रदेशमा ३५८ क्रसर उद्योग बन्द

जिरी (दोलखा) । सरकारले दोलखाका १० सहित बागमती प्रदेशमा गैरकानुनी रुपमा सञ्चालनमा रहेको ३ सय ५८ वटा क्रसर उद्योग बन्द गरेको छ ।

हालसम्म प्रदेशको ९ वटा जिल्लाका विभिन्न स्थानमा सञ्चालित ३ सय ५८ वटा क्रसर उद्योग बन्द भएका हुन् । जसअनुसार दोलखामा गैरकानुनी रुपमा सञ्चालित १० वटा क्रसर उद्योग बन्द भएका छन् ।  जिल्ला समन्वय समिति दोलखाले आज सुचना जारी गर्दै क्रसर उद्योगहरु औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ८ अनुसार दर्ता र नवीकरण नभएको पाइएकाले ति क्रसर उद्योग बन्द गरिएको जानकारी गराएको हो । जसअनुसार भीमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित भीमेश्वर गिटी वालुवा वासिंङ उद्योग, मलेपु रोडा ढुंगा उद्योग, तामाकोशी गाउँपालिका वडा नम्बर १ स्थित दोलखा जलदेवी क्रसर उद्योग एण्ड सप्लायर्स प्रालि, तामाकोशी रोडा ढुंगा उद्योग एण्ड सप्लायर्स प्रालि, वडा नम्बर ३ को दोलखा श्रीएकता रोडा ढुंगा उद्योग, एस.के. रोडा ढुंगा उद्योग बन्द भएका छन् । साथै, कालिञ्चोक गाउँपालिका वडा नम्बर १ मा सञ्चालनमा रहेको साङ्वा खोला क्रसर उद्योग, वडा नम्बर ४ मा रहेको मिलीजुली क्रसर उद्योग, भीमेश्वर क्रसर इन्डट्रिज र वडा नम्बर ७ गुमुमा रहेको खोला क्रसर उद्योग बन्द भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले जानकारी दिनुभयो ।

यसैगरी रामेछापमा २३ वटा क्रसर उद्योग सञ्चालनमा रहेकोमा १६ बन्द भएका छन् । गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय रामेछापले रामेछापमा सञ्चालित १६ उद्योग बन्द गराएको हो । रामेछाप जिल्लाभित्र विभिन्न ठाउँमा गरी क्रसर र वालुवा प्रशोधन गरी २३ वटा उद्योग रहेको तथ्याङक रहेको छ । यस्तै, सिन्धुलीमा ३० वटामा २१ र सिन्धुपाल्चोकमा ३३ वटामा स्थानीय प्रशासनले सबै बन्द गरिदिएको छ ।

यसैगरी काभ्रेपलाञ्चोकमा ४८ वटामा सबै बन्द हुँदा भक्तपुरमा ६ वटामा ३ वटा बन्द भइसकेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेले बताउनुभयो । उहाँका अनुसार ललितपुरमा ७६ वटामा सबै बन्द भएको छ भने मकवानपुरमा १ सय २ वटामा ८५ र नुवाकोटमा ७१ वटामा ६६ वटा क्रसर उद्योग बन्द भएका छन् । गृहमन्त्रालयले गत पुस २० गते देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै जिल्लामा अवैधानिक रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।

दोलखामा बन्द भएका क्रसर उद्योगहरु