images
images

दोलखामा राती ११ बजेसम्म होटल, लज खुल्ला गर्न पाउनु पर्ने व्यवसायीको माग

  • २९ पुष २०८१, सोमबार १५:४५

दोलखा । दोलखाका व्यवसायीहरुले जिल्लाका होटल तथा लज राती ११ बजेसम्म खोल्न पाउनु पर्ने माग गरेका छन् ।

स्थानीय प्रशासनले पर्यटकीय जिल्ला दोलखामा राती ९ बजे नैं होटल, लज बन्द गराएको बिरोध गर्दै व्यवसायीहरुले राती ११ बजेसम्म व्यवसाय खुल्ला राख्न पाउनु पर्ने माग गरेका हुन् । दोलखा उद्योग वाणिज्य संघ, दोलखा चेम्वर अफ कमर्श र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघले आज प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई संयुक्त ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा प्रहरीले राती ९ बजे नैं होटल, लज बन्द गर्ने र बत्ति समेत निभाउन लगाएको उल्लेख छ । स्थानीय प्रहरी, प्रशासनको यस्तो कार्यले दोलखा जस्तो पर्यटकीय जिल्लामा आउने पर्यटकले समेत सास्ति व्यर्होनु परेको उल्लेख छ । प्रहरीका कारण राती अवेर आउने पर्यटकले खान र बस्न समेत नपाएको तथा अग्रिम बुकिङ समेत रद्ध गर्नु परेको उल्लेख छ ।

व्यवसायीहरुले राती ११ बजेसम्म दोलखाका होटल, लज खुल्ला गर्ने व्यवस्था मिलाई दिन आग्रह गर्दै राती ९ बजे नैं बन्द गर्न खोजिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ध्यानाकर्षण पत्रमा दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रवहादुर श्रेष्ठ, दोलखा चेम्बर अफ कमर्शका अध्यक्ष रुद्रजंग बुढाथोकी, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका सदस्य तेजवहादुर थापा र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।