
काठमाडौँ । सरकारले निजामती सेवाका राजपत्रांकित विशष्टि श्रेणीका १३ अधिकृतहरुको सरुवा गरेको छ ।
मन्त्रीपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारले आज सचिव र प्रमुख सचिव गरि १३ जना निजामती सेवाका राजपत्रांकित विशष्टि श्रेणीका अधिकृतहरुको सरुवा गरिएको जनाएको हो । सरकारले ४ प्रमुख सचिव र ९ जना सचिवहरुको सरुवा गरेको हो ।
जसअनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बागमती प्रदेशका प्रमुख सचिव डा. हरीप्रसाद लम्सालको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ । बागमतीको प्रमुख सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्विनिका महादेव पन्थलाई पठाईएको छ ।
यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मधेश प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्यालको कर्णाली प्रदेशमा र कर्णालीका प्रमुख सचिव चुडामणी पौडेलको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा भएको छ ।
९ सचिव को कहाँ ?
यसैगरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्राईको उपराष्ट्रपति कार्यालयको सचिवमा सरुवा भएको छ भने उपराष्ट्रपति कार्यालयमा रहेकी लक्ष्मी कुमारी बस्नेतको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ ।
सरकारले संघीय मामिला तथा सामान्य प्रशसन मन्त्रालयका सचिव भरतमणी सुवेदीको निर्वाचन आयोगमा र आयोगका सचिव रविलाल पन्थको सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा र मन्त्रीपरिषद कार्यालयका सचिव कृष्णहरी पुष्करको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयको महालेखा नियन्त्रकमा र महालेखा नियन्त्रक विनोद प्रकाश सिंहको पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ ।
मन्त्रीपरिषद बैठकले श्रम मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ ।