images
images

९० हजार डलर चिठ्ठा परेको भनेर दोलखाकी युवतीवाट पाँच लाख रुपैयाँ ठगी

दोलखा । दोलखाकी अन्दाजी २५ वर्षीया एक युवतीलाई डलर चिठ्ठा परेको खवर आयो । यो खवर सुनेर उनी खुसी भईन् । त्यही खुसीमा उनले आफु ठगीएको पत्तो पाईनन् ।

टेलिग्राम मार्फत ९० हजार अमेरिकन डलर चिठ्ठा परेको खवरले उनले आफ्नो ५ लाख गुमाउनु प¥यो । उनलाई चिठ्ठामा परेको रकम पोखरा विमानस्थलमा आएर रोकिएको खवर आयो । त्यसपछि उनले माग बमोजिमको ५ लाख रुपैयाँ पठाईन् । उनलाई सो रकम पठाएपछि ९० हजार डलर पाउने प्रलोभनमा पारिएको थियो । तर, डलर आउने आशमा बसेकी युवतीले आफुसँग भएको ५ लाख समेत गुमाउनु प¥यो । आफु ठगीएको थाहा पाएपछि मात्रै उनी जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आईपुगिन् । ती युवतीले आईतबार मात्रै आफु ठगीएको बारेमा दोलखा प्रहरीलाई जानकारी गराएकी थिईन् ।

व्यवसायीबाट २ लाख ३५ हजार ठगी

त्यसअघि दोलखाकै एक व्यवसायी पनि ठगीमा परेका थिए । उनीसँग भने आफ्नो मोबाईलको स्क्रिन शेयर गर्न लगाएर वैंक खाता ह्याक गरि २ लाख ३५ हजार ठगी भएको थियो । सुरुमा ह्वाट्सएपमा चिट्ठा परेको खवर आएपछि ती व्यवसायीले ह्याकरले भने अनुसार मोबाईलको स्क्रिन शेयर गरेर वैंक खाता चलाउन थाले । त्यसपछि ह्याकरले उनको वैंक खाताको पासवर्ड परिवर्तन गरि २ लाख ३५ हजार ट्रान्सफर गरेर ठगी गरे ।

आईफोनको प्रलोभनमा ३ जना ठगीए

यसका साथै आइफोनको प्रलोभनमा परेर ३ जना ठगीएका छन् । आइफोनको प्रलोभनमा पर्दा एक महिला, एक पुरुष र एक युवक ठगीमा परेका हुन् । विगु गाउँपालिका घर भएकी महिलासँग आइफोनको प्रलोभन देखाएर १ लाख २० हजार ठगी भएको छ । सामान एयरपोर्ट आईपुगेको भन्दै रकम माग भएपछि ती महिलाले तीन पटक गरेर १ लाख २० हजार रकम पठाएकी थिईन् ।

जिल्लाकै अर्का एक पुरुषसँग ६० हजार र मकैबारी घर भएका एक युवकसँग ४० हजार ठगी भएको छ । यी तीन वटै ठगी ह्वाट्सएप फार्फत भएको थियो । वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा एक सुरक्षा गार्ड पनि ठगीमा परेका छन् । उनीसँग ५ सय रुपैयाँ मात्रै ठगी भएपनि उनी विदेश जानका लागि रकम जम्मा गरेर तयारी अवस्थामा रहेका थिए । तर, उनी भने ठूलो ठगीको घटनाबाट जोगिएका छन् ।

ढिलागरी जानकारी आउँदा अनुसन्धानमा समस्या

यसका अलवा ५ हजार ठगीका दुई वटा घटना भएको दोलखा प्रहरीले जनाएको छ । सामान्य ठगीका घटनाबारे जानकारी आईरहे पनि पछिल्लो समय ठूलै ठगीका घट्ना हुन थालेपछि सचेत गराउन थालिएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक (इन्स्पेक्टर) दाताराम अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार दोलखामा हालसम्म ८ वटा यस्ता ठगीका घटना भएका छन् ।

शिक्षित युवायुवतीदेखि, व्यवसायी र सुरक्षा गार्डसम्म ठगीमा परेका छन् । पीडितहरुले सुरुमा कुनै जानकारी विनै रकम पठाउने गरेको र ठगीएपछि मात्रै जानकारी दिने हुँदा प्रहरीसम्म आईपुग्न ढिला हुने गरेको इन्स्पेक्टर अधिकारी बताउनुहुन्छ । पीडितहरुलाई सामान आईपुगेको भनेर प्रलोभनमा पार्ने गरेको र रकम पठाएपछि सम्पर्कविहिन हुने गरेको पाईएको छ । पीडितहरुले पठाएको रकम एउटा खाताबाट अर्कैमा पठाईसकेकाले ठगीमा संलग्न व्यक्तिहरुसम्म पुग्न अनुसन्धानको प्रक्रिया समेत लामो हुने गरेको प्रहरीको भनाई छ ।

ह्वाट्सएप र टेलिग्रामबाट ठगी

दोलखामा अनलाईन ठगीको घटना बढ्न थालेको छ । आइफोन पठाउने तथा डलर चिठ्ठा परेको, विदेश पठाईदिने लागएतका विभिन्न प्रलोभनमा पारि ठगी हुने गरेको हो । विशेषगरि ह्वाट्सएप र टेलिग्रामबाट यस्ता ठगीका घटना भएको छ । आइफोन पठाईदिने तथा वैदेशिक रोजगारीमा पठाईदिने प्रलोभन देखाएर भएको ठगीको घटना ह्वाट्सएपकै माध्यमबाट भएको दोलखा प्रहरीले जनाएको छ ।

विभिन्न प्रलोभनमा पारेर ठगीको घटना हुन थालेपछि नेपाल प्रहरीको साईबर व्युरोले समेत सूचना जारी गरि सचेत रहन आग्रह गरिसकेको छ । साईबर व्युरोले फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाईवर लगाएतका सामाजिक सञ्जालहरुमा ‘अनलाईन जब’ को आवरणमा विभिन्न विज्ञापन मार्फत लिंक पठाएर तथा विभिन्न प्रलोभनमा पारेर ठगी गर्ने गरेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको हो ।