images
images

आजदेखि जनकपुर–जयनगर रेलको परीक्षण, रित्तो डिब्बा लिएर कुदाइँदै

  • १ फाल्गुन २०७८, आईतवार ०८:४३

जनकपुरधाम । नेपालमा पहिलो पटक खाली रेल सञ्चालन हुँदैछ ।

धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वा स्टेशनमा पार्किङ गरेर राखिएको नेपाली रेल आजबाट सञ्चालनमा आउन लागेकोे हो । भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किने भएको छ । तर त्यो पनि खाली चल्दैछ । रेल गुड्ने भएपनि यात्रुहरुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । आज विहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा जनकपुरधाम आइपुग्ने र कुर्थासम्म पुगेर पुनः जयनगर फर्किने रेल्वे कम्पनीका महाप्रपबन्धक निरन्जन झाले जानकारी दिनुभयो । उहाँका अनुसार करिब १० दिनसम्म खाली रेल कुदाइनेछ । अब रेल उद्घाटन नभएसम्म दिनको एक पटक इनर्वा हुँदै कुर्थासम्म पुगेर पुन इनर्वामा रेल फर्कनेछ ।

२०७७ असोज २ गते भारतबाट खरिद गरेर ल्याएको नेपाली रेल धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको थियो । १८ महिनाभन्दा बढी समयदेखि एउटै स्थानमा थन्केकाले प्राविधिक स्थिति बुझ्नका लागि रेल गुडाउन लागिएको रेल्वे कम्पनीले जनाएको छ । यात्रुलाई बोक्नुअघि रेल दुरुस्त अवस्थामा राख्नकै लागि परीक्षण स्वरुप रेल सञ्चालन गर्न लागिएको हो । यसबाहेक अतिक्रमण गरिएका रेल मार्गहरु छाड्न, अनाधिकृत बाटो बन्द गर्न, हाट लगाउन बन्द गर्नका लागि चेतना जगाउन, कर्मचारीलाई अभ्यस्त बनाउने उदेश्यले पनि रेल गुडाउन लागिएको रेल्वे कम्पनीका महाप्रपबन्धक झाले जानकारी दिनुभयो ।

थन्किएको रेल फागुनको दोस्रो साता विधिवत रुपमा उद्घाटन गर्ने तयारी भएको छ । सो सम्बन्धमा छलफल चलिरहेको र नेपाल तथा भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट रेलको उद्घाटन गर्ने तयारी भइरहेको बताइएको छ । रेल सेवा सञ्चालन गर्न संघीय सरकारले तत्काल साँढे २१ करोड रुपैँयाको स्रोत सुनिश्चित गरेको छ । भारतीय कम्पनी कोकंण रेल्वे कर्पाेरेशन लिमिटेडले उपलब्ध गराएको बिलबमोजिमको भुक्तानी सो रकमबाट गरिनेछ । रेल सञ्चालनका लागि ५९ जना कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरिएको छ भने भारतबाट २६ जना कर्मचारीलाई बोलाइएको छ । त्यसमध्ये हालसम्म १२ जना आइपुगेको र सञ्चालन भएपछि १२ जना आउने विभागले जनाएको छ । रेल सञ्चालनका लागि तीन जना स्टेशन मास्टर, १० जना टिकट सेलर, २ जना टिटीलाई नियुक्त गरिएको छ ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म करिब ३५ किलोमटिर रेल सञ्चालन हुनेछ । यसअघि भारतको कोकंणबाट ८४ करोड ६५ लाख रुपैँयामा खरिद गरिएका दुई सेट रेल २०७७ असोज २ मा तामझामका साथ जनयनगरबाट जनकपुर ल्याइएको थियो । तत्कालका लागि जगनगरबाट कुर्थासम्म् सामान्य सिटको भाडा ७० र एसी सिटको ३ सय रुपैँया निर्धारण गरिएको छ ।