काठमाडौं । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी पदबाट स्वतः निलम्बनमा परेका छन् ।
नेपालको संबिधानको धारा १ सय १ को उपधारा २ अन्तर्गत संसद सचिवालयमा प्रधानन्यायधीश बिरुद्ध दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका हुन् । सो पत्र सर्वोच्चमा पुगेपछि निलम्बनले औपचारिकता पाउनेछ । प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायधीश स्वतः निलम्बनमा परेको संबिधानबिद्हरुले बताएका छन् । सर्वोच्च अदालतमा निलम्बनको पत्र पुगेपछि बरिष्ठतम न्यायधीश स्वतः कार्यबाहक प्रधानन्यायधीशको रुपमा कायम हुनेछन् ।
जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका बरिष्ठ न्यायधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायधीश बन्ने भएका छन् । कार्कीले संबैधानिक परिषद्को, न्याय सेवा आयोग, न्यायपरिषद्को पनि कामु अध्यक्ष भएर काम गर्नेछन् । कार्की आगामी असोज महिनामा ६५ बर्ष पुग्नेछन् र उमेर हदका कारण स्वतः अवकाश हुनेछन् ।