जिरी (दोलखा) दोलखाको जिरी नगरपालिकास्थित जिरी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएको छ ।
जिरी अस्पतालमा करिब डेढ वर्षदेखि रोकिएको शल्यक्रिया सेवा आजबाट सुरु भएको हो । आज जिरी अस्पतालमा छिमेकी पालिका गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ का दुई जना महिलाको प्रशूति शल्यक्रियाको माध्यमबाट गरिएको छ । पाँच वर्ष अघि जिरी अस्पतालमा पहिलो पटक शल्यक्रिया भएको गोकुलगंगा वडा नम्बर ३ की निरमाया तामाङ र ३ वर्षअघि शल्यक्रिया भएको कल्पना सुनुवारको प्रशूति शल्यक्रियाको माध्यमबाट गरिएको जिरी अस्पतालले जनाएको छ । दोस्रो पटकको सल्यक्रियालाई जटिल रुपमा लिइने भएपनि शल्यक्रिया सफल भएको छ । जिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. देवेन्द्र गौतमको नेतृत्वमा ५ जनाको टोलीले उनीहरुको शल्यक्रिया गरेका हुन् । यसअघि जिरी अस्पतालमा एमडिजिपि डाक्टर र अन्य जनशक्ति नहुँदा लामो समयदेखि शल्यक्रिया लगायतका सेवाहरु ठप्प थियो । जिल्ला अस्पतालको रुपमा रहेको जिरी अस्पतालको व्यवस्थापन नगरपालिका मातहत आएपछि सो अस्पतालवाट दिईने धेरै सेवाहरु कटौती हुँदा शल्यक्रिया सहितको सुत्केरी गर्नका लागि समेत जिरी नगरपालिका र आसपासका वासिन्दा चरिकोट धाउनु पर्ने अवस्था थियो ।
तर, पछिल्लो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमित्त सचिवस्तरीय निर्णयवाट माघ १७ गते एक जना एमडिजिपी डाक्टर र प्रदेश सरकारको सिफारिसमा थप ५ जना स्वास्थ्यकर्मी जिरी अस्पतालमा आएपछि शल्यक्रिया सुचारु भएको हो ।
ब्लड बैंक नहुँदा समस्या
यसैबीच, शल्यक्रिया सेवा सुचारु भएपनि ब्लड बैंक नहुँदा समस्या भएको छ । शल्यक्रिया सेवा सुचारु गरेपनि ब्लड बैंक नहुँदा स्थानीयस्तरमै रगत जुटाएर गर्नुपर्ने भएकाले समस्या हुने देखिएको हो । आजको शल्यक्रिया पनि स्थानीय नीकाय र सुरक्षा निकायबाट संकलनगरी गरिएको छ । यसअघि जिल्ला अस्पतालको रुपमा रहेको जिरी अस्पतालको व्यवस्थापन पछिल्लो पटक नगरपालिका मातहत आएको छ ।