दोलखा । माओवादीले सशस्त्र युद्धको सुरुवात गरेको दिनलाई आज जनयुद्ध दिवसको रुपमा मनाईँदैछ ।
शान्ति प्रक्रियापछि माओवादीले पटक–पटक सरकारको नेतृत्व गरेपनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो । जनयुद्धको २८ औं वार्षिक उत्सवका रुपमा सरकारले आज सार्वजनिक विदा दिएको छ । माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । सोही दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन लागिएको हो । जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दावि छ । दिवसको अवसरमा प्रदेश सरकारहरुले पनि छुट्टै सार्वजनिक बिदाको घोषणा गरेका छन् । बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका बेला केन्द्र सरकारले पनि सार्वजनिक विदाको निर्णय लिएको हो ।
वि.सं २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ती सम्झौतामा रुपान्तरण भएको थियो । जनयुद्धको जगमा नेपालमा राजनितिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनका बलमा नै स्थापित भएका थिए । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ । परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तीहरुको सम्मानमा सरकारले सावर्जनिक विदा दिएको हो ।
यसैबीच, दोलखामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाइँदैछ । जिल्लाका ९ वटै स्थानीय तहमा जनयुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको हो । आज साँझ जनयुद्ध र परिवर्तनकामी सहिदहरुको सम्झनामा सदरमुकाम चरिकोटमा दिप प्रज्वलन कार्यक्रम राखिएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज विशाल खड्काले जानकारी दिनुभयो । माओवादी केन्द्रको भातृ संस्था अखिल क्रान्तिकारी दोलखाले पनि दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको छ ।
जिरीमा रहेको सहिद स्मृति आवासिय माविमा अध्ययनरत विद्यार्थीलाई स्टेशननरी सामाग्री वितरण र दिप प्रज्वलन लगायतका कार्यक्रमको आयोजना गरिएको अखिल क्रान्तिकारी दोलखाले जनाएको छ ।