
जिरी (दोलखा) । दोलखामा नेकपा माओवादी केन्द्रले जिल्लाका सबै स्थानीय तहमा एकैसाथ कार्यक्रमको आयोजनागरी जनयुद्ध दिवस मनाएको छ ।
माओवादी केन्द्र दोलखाले जिल्लाका ९ वटै स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाएको हो । शान्ति प्रक्रियापछि माओवादीले पटक–पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक दिवस मनाउन सरकारले सार्वजनिक विदा दिएको ऐतिहासिक अवसरमा दोलखा माओवादीले सबै स्थानीय तहमा कार्यक्रमको आयोजना गरेको हो । माओवादी केन्द्रको केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज विशाल खड्काको नेतृत्वमा जिल्लाका सबै स्थानीय तहमा जनयुद्ध दिवसमा कार्यक्रमको आयोजना गरिएको हो ।
नेकपा माओवादी केन्द्र भिमेश्वर नगरकमिटीले जिल्ला सदरमुकाम चरिकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य खड्काले जनयुद्ध देशको आमुल परिवर्तन र समृद्धिको लागि भएको भन्दै जनयुद्ध दिवस माओवादीको मात्रै नभई सम्पूर्ण नेपालीको दिवस भएको बताउनुभयो । बागमती प्रदेशका पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका खड्काले जनयुद्धको विशिष्ट महत्वलाई सम्मान गर्दै संघीय सरकारले सार्वजनिक विदा सहित विशेष महत्व दिएकोमा धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
सहिद दिवसको अवसरमा बैतेश्वर र गौरीशंकर तथा जिरी नगरपालिका सहित जिल्लाको सबै पालिकामा सहिद परिवारलाई सम्मान तथा दिप प्रज्वलनको आयोजना गरी मनाइएको छ । बैतेश्वरमा सहिद पार्कमा सहिदको सालिकमाथि माल्यापर्ण तथा सहिद परिवारलाई सम्मान गरि दिवश मनाइएको छ भने गौरीशंकर गाउँपालिकामा पनि माओवादीले कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ । सो क्रममा सहिद परिवारका सदस्यहरु सहिद भएका आफन्तलाई सम्झेर भावुक हुन पुगेका थिए । बैतेश्वर गाउँपालिका वडा नम्बर ३ स्थायी ठेगना भएका स्वर्गीय सहिद निमारेञ्जी शेर्पा (क. गर्जन) का बुबा डुक दोर्जी शेर्पा सहिद छोराको सालिकलाई माल्यार्पण गर्दै भावुक बनेका थिए ।
उता, गौरीशंकर गाउँपालिकामा पनि सहिद रित बहादुर खड्काकी आमा सहिद छोरोलाई सम्झिँदै भावुक हुन पुगेकी थिइन् । सरकारले दिएको अवसरसँगै जिल्लाभर दिवस मनाइरहँदा सहिद भएकाहरुलाई परिवारका सदस्यले एक पटक सम्झना र सम्मान गर्ने मौका पाएका छन् । जिल्लामा सहिद दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहिद परिवारलाई सम्मान, दिप प्रज्वलन लगायत गरी सम्पन्न गरिएको छ ।
आज साँझ माओवादी केन्द्र र अखिल क्रान्तिकारी दोलखाले जिल्ला सदरमुकाम चरिकोट, जिरी लगायत विभिन्न क्षेत्रमा जनयुद्ध र परिवर्तनकामी सहिदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम राखिएको थियो ।दिउँसो जिल्लाभर विभिन्न कार्यक्रमको आयोजना गरी बेलुकी दिप प्रज्वलनसहित दिवशको समापण गरिएको माओवादी केन्द्र दोलखाले जनाएको छ । जनयुद्धको २८ औं वार्षिकोत्सवका अवसरमा सहिद दिवस मनाउन आज सरकारले पहिलो पटक सार्वजनिक विदा दिएको थियो ।