images
images

प्रचण्डको स्वागतमा सिंगारियो जिरी, जनयुद्ध दिवसमा दिप प्रज्वलन

  • १ फाल्गुन २०८१, बिहीबार २१:०७

जिरी (दोलखा) । ३० औं जनयुद्ध दिवस र नेकपा माओवादी केन्द्र जिरी नगर कमिटीको तेस्रो सम्मेलनको सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली जिरी आउँदै हुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डको स्वागतमा जिरी बजार भव्य सिंगारिएको छ । ३० औं जनयुद्ध दिवसको दिन आज बेलुकी जिरीमा दिप प्रज्वलनगरी भोलीको भव्य तयारी गरिएको हो । जिरी बजारमा प्रवेश गर्ने मार्ग हाँटडाँडादेखि लिंकनबजार क्षेत्रमा नेकपा माओवादी केन्द्रको झण्डाहरु फहराइएको छ । जिरीमा जिरी भ्रमण वर्षको औपचारिक उद्घाटन पनि शनिबार हुने भएकोले यी दुई औपचारिक कार्यक्रमको पूर्वसन्ध्यामा बजार क्षेत्रमा झनै रौनकता थपिएको छ ।

भोली नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा ३० औं जनयुद्ध दिवस तथा जिरी नगरकमिटीको तेस्रो सम्मेलनको आयोजना गरेको छ । शान्ति प्रकृया लगतै पहिलो पटक जिरी भ्रमणमा आउनु भएका प्रचण्ड त्यसपछि लगातार चार पटक जिरी आइसक्नुभएको छ । जिरीलाई प्राथमिकतामा राख्दै आउनुभएका उहाँ भोली पाँचौं पटक जिरी आइपुग्नुहुनेछ ।

प्रधानमन्त्री प्रचण्ड दोस्रो पटक जिरीमा आयोजित प्रेस सम्बन्धी दक्षिण एसियाली पत्रकारहरुको सम्मेलनको समुद्घाटनको लागि र तेस्रो पटक जिरी एफएमको दोस्रो वार्षिकोत्सव तथा जिरी नगरपालिकाको भवन उद्घाटनको क्रममा २०७६ सालमा जिरी आउनुभएको थियो । पछिल्लो पटक गत वर्ष मात्रै उहाँ जिरी नगरपालिका–२ स्थित एलुङमा ऐतिहासिक गुम्बा समुद्घाटनको लागि आउनु भएको थियो ।

लिंकनबजारस्थित बसपार्क क्षेत्रमा हुने भोलीको कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड विहान साँढे ११ बजे हेलिकोप्टर मार्फत जिरी आउने कार्यक्रम तय भएको माओवादी केन्द्र दोलखाका पार्टी अध्यक्ष कमल श्रेष्ठले जानकारी दिनुभयो ।

माओवादी केन्द्र दोलखाका कतिपय नेता तथा कार्यकर्ताहरु आजै जिरी आएर दिप प्रज्वलनमा सहभागी भएका छन् । नेकपा माओवादी केन्द्र दोलखाले ३० औं जनयुद्ध दिवसको अवसरमा जिल्ला सदरमुकाम चरिकोटमा पनि दिप प्रज्वलन गरेको छ ।