जिरी(दोलखा) । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा दोलखाका गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् ।
गौरीशंकर गाउँपालिकाका सुरी स्थायी घर भएका बस्नेत पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि सात वर्षअघि भएको महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए। नयाँ नेतृत्व चयन गर्ने भनिएपनि सहमति जुट्न नसकेपछि बस्नेतलाईनै सर्वसम्मत गरिएको हो । यस्तै, महासचिवमा काभ्रेपलाञ्चोकका हिरामान लामा निर्वाचित हुँदा उपमहासचिवमा दोलखाकै शुरोजंग पाण्डे चयन भएका छन् । कालिञ्चोक गाउँपालिकास्थित बाबरेका पाण्डे उपमहासचिवमा निर्वाचित भएका हुन् । पोखरामा आयोजित ९ औं राष्ट्रिय महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षहरुमा राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर चुनिएका छन् भने अर्का उपमहासचिवमा राजु सुवेदी चयन भएका छन् ।
कोषाध्यक्षमा इन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन् । महाधिवेशनबाट १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएका छन् ।