images
images

जिरी ६ को नवनिर्मित वडा कार्यालयको उदघाटन

  • २९ फाल्गुन २०७८, आईतवार १८:०७

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित वडा नम्बर ६ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन भएको छ ।

आज वडाध्यक्ष गोपाल कार्कीको अध्यक्षतामा भएको एक समारोहकाबीच पूर्व मन्त्री एवम् संघीय सांसद पार्वत गुरुङले वडा कार्यालयको उद्घाटन गर्नुभएको हो । हालै मात्रै सम्पन्न भएको साँढे दुई तले भवनको आज उद्घाटन गरिएको हो । यो सँगै वडापालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि भाडाको घरबाट जनतालाई सेवा दिँदै आएको वडा नम्बर ६ ले ५ वर्षपछि आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।

जिरी ६ को साँढे २ तलाको वडा कार्यालय भवन नगरपालिकाको ९७ लाख ४९ हजार ७ सय ७९ रुपैंया लागतमा निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले जानकारी दिनुभयो । साँढे २ तले भवनमा मिटिङ र वईटिङ सहित ९ वटा कोठा रहेको छ । नयाँ भवनबाट चैत १ गतेदेखि सेवा प्रवाह हुने वडा सचिव बिरेश जिरेलले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख टंक जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, पूर्व सांसद इन्द्र बहादुर खड्का, एमाले प्रदेश कमिटी सदस्य मित्र बहादुर जिरेल, एमाले जिरी नगर कमिटीका अध्यक्ष केशव कुमार कार्की, नेपाली कांग्रेस जिरीका सभापति सोनाम शेर्पा, नेकपा माओवादी केन्द्र जिरीका अध्यक्ष गेल्बु शेर्पा र वडाध्यक्षहरुको सहभागीता थियो ।