images
images

जिरी उद्योग वाणिज्य संघको भोली निर्वाचन, दुई प्यानलबीच प्रतिस्पर्धा हुँदै

  • २९ फाल्गुन २०७९, सोमबार ०९:२०

जिरी (दोलखा) । जिरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भोली निर्वाचन हुँदैछ ।

जिरी उद्योग वाणिज्य संघको भोली हुने पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको तयारी तीब्र पारिएको हो । संघको निर्वाचनमा दुई प्यानल बीच प्रतिस्पर्धा हुँदैछ । फागुन २१ गते मनोनयन दर्तापछि दुवै पक्षले तयारी तीब्र पारेका छन् । अध्यक्ष पदमा हालका अध्यक्ष गेल्बु शेर्पा र वरिष्ठ उपाध्यक्ष बाबुराजा श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि पनि अध्यक्ष रहेका शेर्पाको सम्भावना बलियो रहेको व्यवसायिहरुले बताएका छन् । अन्य पदमा पनि संस्थापन पक्ष शेर्पा र श्रेष्ठको छुट्टा–छु्ट्टै प्यानल चुनावी मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका छन् ।

गेल्बु शेर्पा प्यानल (संस्थापन पक्ष) बाट प्रथम उपाध्यक्षमा देव बहादुर श्रेष्ठ, द्धितीय उपाध्यक्षमा रमेश बस्नेत, महासचिवमा दल बहादुुर श्रेष्ठ (डिवी), सचिवमा दिपक कार्की र कोषाध्यक्षमा सुरज खड्का उम्मेदवार बनेका छन् । यस्तै, संस्थापन पक्षबाट सदस्यहरुमा गया कुमार श्रेष्ठ, पेमा तुण्डु शेर्पा, यम बहादुर खत्री (सुरेन्द्र) र दिपेन्द्र खड्का रहेका छन् ।

यसैगरी, बाबुराजा श्रेष्ठ समूहबाट प्रथम उपाध्यक्षमा आङगेल्जी शेर्पा, द्धितीय उपाध्यक्षमा शिवस कुमार बस्नेत, महासचिवमा अनिल कार्की, सचिवमा सुमन शाही तथा कोषाध्यक्षमा इन्द्र बहादुर कार्की उम्मेदवार बनेका छन् । सो समुहबाट सदस्यमा रामकृष्ण शैजु श्रेष्ठ र उद्धव जिरेललाई उम्मेदवार बनाइएको छ । निर्वाचनबाट एक अध्यक्ष, प्रथम उपाध्यक्ष र द्धितीय उपाध्यक्ष गरी दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा ४ जना सदस्य निर्वाचित हुनेछन् । कुल अध्यक्ष सहित १० जना निर्वाचित हुने भएपनि १८ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा १ सय ९५ जना मतदाताले मतदान गर्नेछन् ।