images
images

नेकपा माओवादी केन्द्रले कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा बुढाथोकीलाई उम्मेदवार बनाउने

  • ३० चैत्र २०७८, बुधबार १६:५७

दोलखा । नेकपा माओवादी केन्द्रले दोलखाको कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा कुल बहादुर बुढाथोकीलाई उम्मेदवार बनाउने भएको छ ।

नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिकाको आज बसेको बैठकले जिल्ला संयोजक समेत रहेका बुढाथोकीलाई सर्वसम्मत गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । २०४३ सालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध बुढाथोकीलाई २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि माओवादीले उम्मेदवार बनाएको थियो । त्यतिबेला झिनो मतान्तरले बुढाथोकीले पराजय व्यहोर्नुपरेको थियो । गाउँपालिकाको अध्यक्षमा विजयी भएका विनकुमार थामीले ४ हजार ६ सय १ मत प्राप्त गरेका थिए भने बुढाथोकीले ४ हजार २ सय २ मत प्राप्त गरेका थिए । पार्टीको जिल्ला सहसंयोजक हुँदै अहिले संयोजकको भुमिकामा रहेका बुढाथोकी कालिञ्चोकमा लोकप्रिय नेताका रुपमा परिचित छन् ।

माओवादी केन्द्रले जिल्लामा गठबन्धनको भावनालाई नतोड्ने गरी उम्मेदवार घोषणा गरिरहेको जनाएको छ । गठबन्धनको भावना नतोड्ने तर आवश्यकता र बाध्यताका आधारमा अघि बढ्ने भन्दै माओवादीले हालसम्म तीन वटा पालिकाको उम्मेदवार टुंगो लगाएको हो । यसअघि मंगलबार माओवादी केन्द्रले वैतेश्वर गाउँपालिकाको अध्यक्षमा लक्ष्मण खड्का र तामाकोशी गाउँपालिकाको अध्यक्षमा सन्तोष केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।