images
images

गठबन्धनमा सहमतिपछि माओवादी केन्द्रको विशेष सर्कुलर

  • ३० चैत्र २०७८, बुधबार १७:२५

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनमा चुनावि तालमेलको मापदण्ड र आधार तय भएपछि पार्टी पंक्तिमा विशेष सर्कुलर पठाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आज पार्टी पंक्तिमा विशेष सर्कुलर जारी गर्नुभएको हो । प्रचण्डले गठबन्धन दलहरुबिच भएको सहमतिपत्र सहित पार्टी पंक्तीमा सर्कुलर जारी गरेको माओवादी केन्द्रले जनाएको छ । सो सहमति तथा निर्णय कार्यान्वयन गर्न तथा गराउन अध्यक्ष प्रचण्डले निर्देशन दिनुभएको छ । पाँच दलीय गठबन्धनका बिच सीट बाँडफाँड संयन्त्रले गर्ने भनिएको बुदाँ नम्बर २ को हकमा जिल्लास्तरीय संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने प्रचण्डले जारी गरेको सर्कुलरमा उल्लेख गरिएको छ ।

सो संयन्त्रमा पालिकास्तरमा सम्बन्धीत पालिकाका इन्चार्ज र अध्यक्ष सहभागी हुनेछन् । यस्तै जिल्लास्तरीय संयन्त्रमा जिल्ला इन्चार्ज र संयोजक सहभागी हुने र प्रदेशस्तरीय संयन्त्रमा प्रदेश इन्चार्ज र अध्यक्ष सहभागी हुनेछन् । प्रदेशस्तरीय संयन्त्रको बैठकमा आवश्यकता अनुसार जिल्ला इन्चार्ज र संयोजकलाई आमन्त्रण गर्न पनि भनिएको छ । अन्य सबै कार्यहरु पाँच दलीय गठबन्धनको ७ बुँदे आधारहरु र सिट बाँडफाँड सम्बन्धी ६ बुँदे निर्देशन अनुसार गर्न प्रचण्डले निर्देशन दिनुभएको छ ।

सर्कुलर कांग्रेस, एकीकृत समाजवादी पार्टी लगायतले पनि पठाउने बताइएको छ । पाँच दलीय सत्तारुढ गठबन्धनको हिजो बसेको बैठकले स्थानिय तहमा तालमेल गर्ने निर्णय गरेको थियो ।