भक्तपुर । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि ब्याजदर घटाएका छन् ।
बैंकहरूले सोमबार वैशाख महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै बैंकहरूको ब्याजदर अत्याधिक घटिसकेको छ । बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् ।
ब्याजदर घटाए
चैतको तुलनामा वैशाखमा ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ ले स्थिर राखेका छन् । अधिकांशले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसतमा ब्याजदर घटेको हो ।
वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा चैतको तुलनामा वैशाखमा ०.०९४ प्रतिशत बिन्दुले झरेको छ । चैतमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.४९४ प्रतिशत रहेकोमा वैशाखमा ४.४०० प्रतिशतमा झरेको छ ।
चैतको तुलनामा वैशाखमा ब्याजदर घटाएका बैंकमा एभरेस्ट, हिमालयन, कुमारी, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड छन् ।
ब्याजदर स्थिर राख्ने बैंक
त्यस्तै स्थिर राखेकामा कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, नेपाल, एनएमबी, एसबीआई, प्राइम कमर्सियल, प्रभु र सानिमा छन् ।
व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर वैशाखमा ५.०० प्रतिशत कायम रहेको छ । एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ५ प्रतिशत ब्याजदर तय गरेको छ । अरु सबै बैंकको व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल रहेको छ ।
कर्जा प्रवाह हुन सकेन
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।










