
काठमाडौँ । अशोक राई पक्षको जनता समाजवादी पार्टी सरकारमा सहभागि भएको छ ।
जसपाकै अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिएलगत्तै अशोक राई पक्षको नवगठित जसपा सरकारमा सहभागि भएको हो । जसपाबाट एक मन्त्री र एक जना राज्यमन्त्री नियुक्त भएका छन् । राई पक्षको जसपाका नेता प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना खान वन राज्यमन्त्री नियुक्त भएकी हुन् । जसपा नेपालबाट बैशाख २२ मा विभाजित भएको राई नेतृत्वको जसपाबाट एक जना मन्त्री यसअघि नै सरकारमा सहभागि छन् । उपप्रधानमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री दीपक कार्कीले राजिनामा दिएपनि उनीहरुसँगै मन्त्री बनेका नवलकिशोर शाह भने सरकारमै रहेका हुन् । उनी जसपा विभाजनका क्रममा राई पक्षमा गएका थिए ।
गत फागुन २७ गते प्रचण्ड नेतृत्वको सरकारमा सहभागि भएको जसपा नेपालले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।