
काठमाडौँ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सूचना प्रविधि (आईटी) क्षेत्रमा करिब ५ सय जनालाई रोजगारी दिने भएको छ ।
मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ बमोजिम स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत् रोजगारी दिने तयारी गरेको हो । यसका लागि मन्त्रालय र सुरक्षण कोषबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । समझदारी अनुसार सुरक्षण कोषले कक्षा १२ पास गरेका युवाहरुलाई आईटी सम्बन्धी सीप विकास तालिम प्रदान गर्नेछ ।
साथै उनीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र आईटी क्षेत्रका रोजगारदासँग समन्वय गरी रोजगारीका अवसर सिर्जना गर्ने योजना रहेको छ । योजना अनुसार कोषले रोजगारमुखी सीप विकास तालिम कर्जा सुरक्षणका लागि आवश्यक बैँक तथा वित्तीय संस्थाको छनौट गरी सम्झौता गर्नेछ । ती संस्थाहरुको विवरण सूचना प्रविधि प्रणालीमार्फत् अद्यावधिक गरिनेछ ।