images
images

काभ्रेपलाञ्चोकको रोशीमा आएको बाढीले डाइभर्सन बगाउँदा आठ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षापछि काभ्रेपलाञ्चोकको माप्तीस्थित रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध भएको छ ।

रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा  राजमार्ग आठ घण्टादेखि अवरुद्ध भएको हो । गए रातिदेखि नै अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन नसकिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो ।

प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताउनुभयो । राजमार्गमा अलपत्र परेका १७ यात्रुको उद्धार गरेको प्रहरीले जनाएको छ । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो ।

यसैबीच, हिजो दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता भएकी रेनुका गिरीको  पनि खोजी सुरु गरिएको  छ । पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा ३३ वर्षीया गिरी बेपत्ता भएकी छिन् । आज बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको छ ।