images
images

पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधरणको लागि ६६ लाख कित्ता शेयर निष्काशन गर्दै

  • ३१ जेष्ठ २०८१, बिहीबार १२:०६

जिरी (दोलखा) । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधरणको लागि शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले दोलखा र रामेछापको सिमाना हुँदै बहने खिम्ती खोलामा निर्माण सम्पन्न हुन लागेको खिम्ती–२ जलविद्युत आयोजनाको शेयर निष्काशन गर्न लागेको हो । पिपुल्स ईनर्जी लिमिटेडको ४८ दशमलव ८ मेगावाट क्षमताको हाईड्रोपावरको १०० रुपैंया दरको ६६ लाख कित्ता ६६ करोड रुपैंयाको शेयर निष्काशनको तयारी गरेकोे सञ्चालक दिल सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सेयर निष्कासनको प्रत्याभूति गर्नका लागी नागरिक लगानी कोषसँग पिपुल्स इनर्जीले सम्झौता गरेको छ । हिजो कोषका निर्देशक पर्वत कुमार कार्की र कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यो सँगै शेयर निष्कासनको लागि बाटो खुलेको श्रेष्ठले बताउनुभयो ।

प्रकृया अघि बढिसकेकोले अब आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले केही महिनामा शेयर लगानी गर्ने अवसर पाउनेछन् । हाल खिम्ती–२ जलविद्युत आयोजनाको निर्माण भैरहेको छ । आयोजना सम्पन्न गर्न ८ अर्ब ६४ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । आयोजना सम्पन्न भएर विद्युत उत्पादन सुरु भएपछि वार्षिक २६ करोड युनिट विद्युत उत्पादन हुनेछ । हिउँदको उत्पादन साँढे ४ करोड युनिट र बर्खाको उत्पादन साँढे २१ करोड युनिट उत्पादन हुनेछ ।