दोलखा । बाढी पहिरोका कारण अलपत्र परेका पर्यटकको उद्धार तथा बेदिङ र ना गाउँका बासिन्दाकालागि खाद्यान्न सहितको सामाग्रि लिएर नेपाली सेनाको हेलिकोप्टर गौरीशंकरका लागि उडेको छ ।
गृह मन्त्रालयले उद्धार तथा राहतकालागि पठाएको सैनिक हेलिकोप्टर चरिकोटमा खाद्यान्न सामाग्रि लोड गरेर बेदिङका लागि केहिवेर अघि उडेको हो । सेनाको एमआई १७ हेलिकोप्टरले बेदिङ र ना गाउँमा रहेका पर्यटकको उद्धार गर्ने र स्थानीयलाई खाद्यान्न सामाग्रि समेत पुर्याउने दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो ।
असार २१ गते राती रोल्वालिङ खोलामा आएको बाढीले गौरीशंकर गाउँपालिकाको डोगाङका होटल तथा लज बगाउनुका साथै स्थानीय होटल व्यवसायी जाङ्मु शेर्पालाई बेपत्ता बनाएको थियो । बाढीले च्छोरोल्पा पदमार्गको पदमार्गमा क्षेति गर्नुका साथै पदमार्गका पुलहरु समेत बगाएको थियो । सोही कारण बेदिङ र च्छो रोल्पाको भ्रमणमा गएका १४ जना आन्तरिक पर्यटक अलपत्र परेका थिए । ती मध्ये ४ जना सोलुखुम्बुका नागरिक हुन् ।
उनीहरु हिडेर आउने अवस्था नभएपछि उद्धारकालागि जिल्ला विपद व्यवस्थापन समिति र गौरीशंकर गाउँपालिकाले केन्द्रिय दैवि प्रकोप उद्धार समितिसँग हेलिकोप्टर माग गरेको थियो । लगातारको वर्षाको कारण ९ दिनदेखि उनीहरुको उद्धार हुन सकेको थिएन ।
बाढीले बेदिङ र ना गाउँमा जाने बाटो बगाएपछि नाकावन्दीमा परेका स्थानीयलाई गौरीशंकर गाउँपालिकाले खाधान्नको व्यवस्था गरेको छ । गाउँपालिका अध्यक्ष विश्वास कार्कीले सैनिक हेलिकोप्टरमै ३७ बोरा चामल, एक बोरा नुन, एक बोरा चिनी लगायतका दैनिक उपभोग्य सामान लिएर गएका हुन् ।