images
images

दोलखामा किन जान्छ झ्याप्प–झ्याप्प बिजुली ?

दोलखा । दोलखामा केही दिन यता नियमित विद्युत आपूर्ति नहुँदा समस्या भएको छ ।

पछिल्ला केही दिन यता जिल्लामा नियमित विद्युत आपूर्ति नहुँदा उपभोक्ताहरु समस्यामा परेका हुन् । जिल्लामा विगत केही दिनयता जुनसुकै समयमा पनि झ्याप्प–झ्याप्प विद्युत जाने समस्या देखा परेको छ । विशेषगरी बिहान बेलुका तथा दिउँसोको समयमा समेत विद्युत जाने गरेको छ । ‘विद्युत जोन’ को रुपमा चिनिने दोलखामा दैनिक सैयौँ मेगावट विद्युत उत्पादन हुँदै आएपनि जिल्लाभित्रकै नागरिकहरुले विद्युत आपूर्तिमा समस्या खेप्नुपरेको हो ।

नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले प्रशारण लाईनहरुमा देखिने प्राविधिक समस्याका कारण विद्युत आपूर्ति अनियमित भएको बताउनुभयो । जिल्लामा ठूलो समस्या नदेखिएपनि अन्य समयको तुलनामा वर्षाको समयमा विद्युत आपूर्तिमा समस्या देखिने गरेको उहाँको भनाई छ । लगातारको वर्षाका कारण विभिन्न स्थानमा पोल ढल्ने तथा तार चुँडिने र रुखको हाँगाहरुले तार छोएका कारणले पनि विद्युत आपूर्तिमा समस्या भएको प्रमुख न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार विगत चार दिन यता दोलखामा सिंगटी र खिम्ती जलविद्युत आयोजनाको विद्युत प्रवाह भईरहेको छ । लामोसाँघु–मकैबारी ३३ केभी प्रशारण लाईनको कन्ट्रोल प्यानलमा समस्या आएपछि जिल्लामै उत्पादन भएको बिजुली वितरण गरिएको हो ।