images
images

ऐतिहासिक सहर दोलखामा यसरी मनाईयो गाईजात्रा (तस्बिर सहित)

  • २८ श्रावण २०७९, शनिबार २१:०६

जिरी (दोलखा) । ऐतिहासिक, धार्मिक एवँ पुरात्तात्विक महत्वको सहर दोलखामा आज गाईजात्रा पर्व भव्यरुपमा मनाईएको छ ।

दिवङ्गत आफन्तहरूको सम्झना तथा उनीहरूको आत्म शान्तिको कामना गर्दै दोलखा बजारमा विभिन्न समुदायका मानिसहरुले भव्यरुपमा गाईजात्रा मनाएका हुन् । हिजो ठूलो लाखे निकालेका नेवार समूदायले आज दोलखा बजारमा बिभिन्न मौलिक बाजागाजाका साथ गाईजात्रा निकालेका छन्् । गाईजात्रा पर्व दोलखामा पनि प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गित गाएर मनाईएको हो । विशेषगरी नेवारी समुदायमा बर्षभरी मृत्यु भएकाहरुको नाममा उनीहरुको चीर शान्तिको कामना गर्दै घर–घरवाट गाईजात्रा निकाल्ने चलन रहि आएको छ । गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारेर नगर परिक्रमा गराउने प्रचलन अनुरूप यो पर्व मनाईँदै आएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाईने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा दोलखामा पनि हर्षाेल्लासपुर्वक मनाइएको छ ।

दोलखा सहरमा गाईजात्रा प्रदर्शन गरिसकेपछि आज वेलुकी सोह्र सय गोपिनीको नाच (ट्वाखल प्याखन) निकालिनेछ भने भोलिवाट भैरवकुमारी जात्रा सुरु हुनेछ । ऐतिहासिक सहर दोलखामा गाईजात्राको भोलीपल्टदेखि पाँच रात लगातार मन्दिर र स्थानीय टोलहरुमा देखाईने भैरवकुमारी जात्रा निकै चर्चित छ ।