जिरी(दोलखा) । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको नोक्सानी घट्दै गएको छ ।
आयोजनाले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार आम्दानी बढ्दै जाँदा नोक्सानी घटेको देखिएको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा रहेको कम्पनी गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा २ अर्ब ६८ करोड नोक्सानीमा रहेको छ । कम्पनीको आम्दानी बढेको र खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको कम्पनीले जनाएको छ । एक आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट ८ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ दशमलव ९३ प्रतिशत बढी हो ।
कम्पनीको वित्तीय आम्दानी २३ दशमलव १७ प्रतिशत र वित्तीय खर्च ७ दशमलव ६८ प्रतिशत घटेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ । चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको जगेडा कोष भने ९ अर्ब १३ करोड रुपैयाँ ऋणात्मक रहेको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले तीन वर्षदेखि निरन्तर विद्युत उत्पादन गर्दै आएको छ ।
आयोजनाले २०७८ साल साउदेखि नियमित विद्युत उत्पादन सुरु गरेको थियो भने २०७८ भदौ १० गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो ।