दोलखा । महिलाहरुले नेतृत्व गर्दै आएको दोलखा जिल्लाकै उत्कृष्ट सहकारीमध्येको एक सदरमुकाम चरिकोट स्थित परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड १४ औँ वर्षमा प्रवेश गरेको छ ।
२०६८ साल साउन २९ गते स्थापना भएको जिल्लाकै नमुना संस्थाको रुपमा स्थापित परोपकार साकोस आजबाट १४ औँ वर्षमा प्रवेश गरेको हो । परोपकार साकोसको कुल पुँजी १५ करोड ४७ लाख १९ हजार ५ सय ९४ रुपैयाँ पुगेको छ । साकोसको कुल बचत ११ करोड, ५९ लाख १४ हजार ६०१ रुपैयाँ, शेयर पुँजी १ करोड ७० लाख ६० हजार ९००, जगेडा कोष ५६ लाख ५ हजार ६८१ र ऋण लगानी १२ करोड १९ लाख ३३ हजार ५३९ रुपैयाँ रहेको परोपकार साकोसले जनाएको छ ।
साकोसमा तरलता रकम २ करोड ९० लाख २२ हजार ८५० रुपैयाँ रहेको छ । २१ सय ४६ जना शेयर सदस्य रहेको संस्थामा ४ सय ५० जना बालबचतकर्ता रहेका छन् । संस्थाकी अध्यक्ष सर्मिला सापकोटाले संस्थाले विशेषगरी महिलाको जीवनस्तर उकास्न विशेष भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
शेयर सदस्य महिलालाई सीप प्रदान गरी आत्मनिर्भर बनाउने, सिकेको सीपलाई उपयोग गरी उद्यमि बन्न चाहनेलाई कम व्याजदरमा ऋण उपलब्ध गराउने साथै उत्पादित वस्तुको बजार व्यवस्थापनमा सहयोग गर्दै आएको अध्यक्ष सापकोटाको भनाई छ । भीमेश्वर नगरपालिका कार्यक्षेत्र रहेको साकोसले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष सामाजिक कार्यहरु गर्दै आएको छ ।
स्थापना दिवसको अवसरमा साकोसले आज सदरमुकाम चरिकोटमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । प्रमुख अतिथि बागमती प्रोस्कुनका महासचिव जिवसराज खड्का, जिल्ला सहकारी संघका अध्यक्ष देवीप्रसाद शर्मा र भीमेश्वर नगरपालिकाका सहकारी विभाग प्रमुख नारायण सेढाईँले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । परोपकार साकोसको आयोजना र नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाको प्राबिधिक सहयोगमा सञ्चालित खुल्ला रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा संस्थाका सञ्चालक, कर्मचारी, शेयर सदस्य लगायत ११ महिला र ८ पुरुष गरी १९ जनाले रक्तदान गरेका हुन् ।