जिरी (दोलखा) । आगामी मंसिर तेस्रो साता स्थानीय तहका ३४ पदमा निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले दोलखाको एक सहित विभिन्न कारण रिक्त रहेका ३४ पदमा निर्वाचन गर्न लागेको हो । दोलखाको गौरीशंकर एक वर्षदेखि उपाध्यक्ष पद रिक्त रहेको छ । गत वर्ष उपाधयक्ष श्याम सुन्दर तामाङको निधन भएपछि एक वर्षदेखि सो पद रिक्त रहेको छ । उनको २०८० साल असार ३१ गतेका दिन निधन भएको थियो ।
यस्तै, काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, मोरङको ग्रामनाथ गाउँपालिका अध्यक्ष, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षसहित विभिन्न स्थानीय तहका वडाअध्यक्ष पदमा उपनिर्वाचन हुनेछ ।
आयोगले मंसिर दोस्रो वा तेस्रो साता निर्वाचन गर्नेगरी तयारी थालेको छ । आयोगले यस विषयमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो । सरकारले मिति तोक्नुअघि नै मतदाता नामावलीमा नाम अद्यावधिक गर्न पनि आयोगले आव्ह्वान गरेको छ ।