images
images

मर्यादाक्रम नमिलाए निर्वाचनमा नखटिने शिक्षक महासंघ दोलखाको चेतावनी

  • २७ कार्तिक २०७९, आईतवार १८:२५

जिरी (दोलखा) । नेपाल शिक्षक महासंघ दोलखाले शिक्षकहरुलाई निर्वाचनमा मर्यादाक्रम विपरित खटाउने निर्णय गरेको भन्दै विरोध जनाएको छ ।

नेपाल शिक्षक महासंघ जिल्ला समितिले आज विज्ञप्ती जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि शिक्षक कर्मचारीहरु खटाउने क्रममा मर्यादाक्रम नमिलाएको भन्दै आपत्ति जनाएको हो । माध्यमिक तहको केही स्थायी शिक्षकलाई सहायक कर्मचारीको रुपमा खटाएको र सो भन्दा तल्लोे तहका कर्मचारीलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिएको भन्दै महासंघले मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटलाई निर्णय सच्याउन ध्यानाकर्षण गराएको छ ।

निम्न माध्यमिक प्रथम र द्धितिय तथा प्राथमिक तह प्रथम र द्धितिय श्रेणीका शिक्षकहरुलाई निजामित तर्फका समान तहका वा सो भन्दा तल्लो तहकालाई मतदान अधिकृत र सहायक मतदान अधिकृतको मातहतका कर्मचारीको रुपमा खटाइएकोले मर्यादाक्रम नमिलेको महासंघको ठहर छ । शिक्षकहरुमाथि दोस्रो दर्जाको नागरिकलाई जस्तो गरी अपमानपुर्ण ढंगबाट गरिएको कार्य विभाजनप्रति पूर्ण असहमित जनाउँदै निर्वाचनमा खटाउनुपर्ने भए पुनः कार्यविभाजन गर्न समेत आग्रह गरिएको छ ।

अन्यथा सम्पूर्ण शिक्षकहरुलाई अपमान सहेर निर्वाचनमा सहभागी नहुन आव्ह्वान गर्ने शिक्षक महासंघ जिल्ला समिति दोलखाका अध्यक्ष पदमबहादुर जिरेलद्धारा हस्तक्षरित विज्ञप्तीमा भनिएको छ ।