बारा । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ११ जना घाइते भएका छन् ।
झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा प्रहार गर्दा १० जना प्रहरी र प्रहरीको गोली लागेर एक जना घाइते भएका हुन् । नगरपालिकाका मेयर किशोरीसाह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा एक समूहले हाजिर गर्न अवरोध गरेपछि विवाद भएको थियो । सोही विवादका क्रममा झडप हुँदा नियन्त्रणका लागि परिचालन गरिएको प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । गोली लाग्ने व्यक्तिको नाम भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
यसअघि बाराको सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख चढ्ने गाडीमाथि तोडफोड भएको थियो । आन्दोलनकारीहरुले नगर प्रमुखको गाडीमा ढुंगा प्रहार पनि गरेका थिए । सो नगरपालिकामा ५ महिनादेखि स्थानीय नगर अस्पतालका आकस्मिक सहितका सेवा बन्द रहेका छन् भने एक सातादेखि सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प रहेको छ । यस्तै, नगरपालिकाका वडा कार्यालयहरु पनि बन्द रहेका छन् ।










