images
images

बागमती प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने

  • ३० पुष २०७९, शनिबार १४:५५

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रीपरिषद विस्तार हुने भएको छ ।

मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले माघ ३ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । त्यसपछि मात्रै मन्त्रीपरिषद विस्तार गर्ने मुख्यमन्त्री जम्मरकट्टेलले तयारी गर्नुभएको हो । गत पुस २५ गते जम्मरकट्टेल प्रदेश संरचनाको दोस्रो कार्यकालको पहिलो र हालसम्मको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रदेश सरकारमा हाल मुख्यमन्त्री जम्मरकट्टेलसहित ३ सदस्यीय मन्त्रीपरिषद् रहेको छ । त्यसमा पनि एक जना मन्त्रीले विभागीय जिम्मेवारी पाएका छैनन् । पुस २५ गते प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्मरकट्टेलले २६ गते शपथग्रहण लगत्तै २ जना मन्त्री नियुक्त गरेका थिए । उहाँले नेकपा एमाले संसदीय दलका नेता जगनाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउनुभएको थियो भने राप्रपाका संसदीय दलका नेता उद्धव थापा विना विभागीय मन्त्री बन्नुभएको थियो । प्रदेशमा रहेको अन्य १२ वटा मन्त्रालय मुख्यमन्त्री आफैँले चलाइरहनु भएको छ । जम्मकट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । उहाँलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ जना सांसदको समर्थन रहेको छ ।