images
images

पत्रकार महासंघ दोलखा शाखाको साधारण सभा सम्पन्न

  • ३० पुष २०७९, शनिबार १५:३९

दोलखा । नेपाल पत्रकार महासंघ दोलखा शाखाको ११ औँ साधारण सभा आज सम्पन्न भएको छ ।

सदरमुकाम चरिकोटमा सम्पन्न साधारण सभाको प्रतिनिधिसभाका सांसद गंगा कार्की बिश्वले उद्घाटन गर्नुभयो । सभाको उद्घाटन गर्दै सांसद बिश्वले पत्रकारिता राज्यको ऐना भएको भन्दै सत्यतथ्य र निश्पक्ष पत्रकारिता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लामा कतिपय सरकारी कार्यालयमा काममा ढिलासुस्ती हुने गरेको गुनासो आएको भन्दै जनतालाई सास्ती हुने ढिलासुस्ती स्वीकार्य नहुने बताउनुभयो । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले राष्ट्रिय परिचयपत्र र पासपोर्ट वितरणमा केही असहजता भएको स्वीकार गर्दै टाईम कार्ड लागु गर्ने वा अन्य सरल उपायको खोजी भैरहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराज घतानी, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी, प्रेस काउन्सिलका सदस्य चिरञ्जीवि मास्के, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का, पत्रकार महासंघ बागमती प्रदेश समिति सदस्य श्याम खतिवडा, बार एसोसिएसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईँ, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

स्वास्थ्यकर्मि सम्मानित 

कार्यक्रममा पशुपति चौलागाईँ स्मृति अस्पतालका दुई जना स्वास्थ्यकर्मिलाई पनि सम्मान गरिएको छ । कोरोना महामारीमा अहोरात्र खटेर कोभिड बिरुद्धको खोप लगाएका दुई जना सिनियर स्वास्थ्यकर्मि प्रतिमा भट्टराई र उर्मिला चौलागाईँलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मानित गरिएको हो ।

पत्रकारिता कोषको घोषणा

कार्यक्रममा नेपाल पत्रकार पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाईँले स्वर्गिय सुप्रिम स्पन्दन स्मृति पत्रकारिता कोषको घोषणा गर्नुभएको छ । चौलागाईँले आफ्ना स्वर्गिय छोरा स्पन्दन चौलागाईँको नाममा ५० हजार राशिको पत्रकारिता कोषको घोषणा गर्नुभएको हो । स्वर्गिय स्पन्दनको १८ वर्षको उमेरमा गत मंसिर १३ गते निधन भएको थियो ।