जिरी । (दोलखा) दोलखाको पर्यटकीय नगरी जिरीमा आयोजित ‘स्वर्गीय हेमन्त प्रधान स्मृति’ बागमती प्रदेशस्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधी चितवनले हात पारेको छ ।
यही पौष २६ गतेदेखी पर्यटकीय नगरी जिरीको लिंकन बजारस्थित जिरी प्राविधिक शिक्षालयको खेल मैदानमा सुरु भएको बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगीतामा रामेछापलाई पराजित गर्दै चितवनले जित हात पार्न सफल भएको हो । प्रतियोगिताको विजेता बनेसँगै चितवनले नगद दुई लाखसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै, उपविजेता रामेछापले नगद एक लाखसहित शिल्ड मेडल र प्रमाणपत्र पाप्त गर्न सफल भएको छ । भलिबल प्रतियोगितामा तेस्रो हुन सफल सिन्धुलीले नगद ५० हजार र सान्तोना स्थान हासिल गर्न सफल दोलखाले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । नेपाली काँग्रेस क्षेत्रीय समिति दोलखा क्षेत्र नम्बर १ का सभापती शुक्रराज तामाङले प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभयो । भलिबल प्रतियोगितामा १२ टिमको सहभागीता रहेको थियो ।
नेपाली काँग्रेस क्षेत्रीय समिति दोलखा क्षेत्र नम्बर १ को आयोजनामा जिरीमा यही पौष २६ गतेदेखी बागमती प्रदेश (साविक क्षेत्र) स्तरीय सर्वाधिक राशीको भलिबल प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रीय सह महामन्त्री भिष्मराज आङ्देम्वाले उद्घाटन गर्नुभएको थियो ।











