
काठमाडौं । आज माघ १ गते, मुलुकभर धुमधामका साथ माघे संक्रान्ति पर्व मनाइँदैछ ।
प्रत्येक वर्ष माघको पहिलो दिन अर्थात आज मनाइने माघे संक्रान्ति पर्व देशभर स्नान, जप, ध्यान साधना, दानआदी गरी मनाइन्छ । पवित्र नदी, तलाउ, तथा त्रिवेणीमा नुहाएर पूजा आजा गरी खिचडी, घ्यू, चाकु, तीलको लड्डु, सखरखण्ड लगायतका परिकार खाई यो पर्व मनाउने गरिन्छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।
संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ । आजको दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुनदान गरेसरहको पुण्य प्राप्ती हुने धार्मिक विश्वास छ । आजदेखि सुर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यो पर्वलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । आजबाट उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जाने बताईएको छ ।
माघे संक्रान्ति पर्वलाई नेवार, मगर र थारु समुदायले पनि आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । थारु समुदायले आज नयाँ वर्षका रुपमा धुमधामका साथ माघी पर्व मनाउँदैछन् । थारु समुदायले नयाँ वर्षको रुपमा आजदेखि ५ दिनसम्म यो पर्व मनाउने गर्दछन् ।
आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने लाग्छ । माघे संक्रान्ति पर्वका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ।