
दोलखा । दोलखाको जिरी नगरपालिकामा एक बृद्धको हत्या आरोपमा ४ जना पक्राउ परेका छन् ।
जिरी नगरपालिका–३ पटासेका ६१ वर्षीय हुम्बा तामाङको हत्या अभियोगमा सोही स्थानका एक दम्पतीसहित ४ जना पक्राउ परेका हुन् । दोलखा प्रहरीले मृतकका छिमेकी धनवहादुर तामाङ र गंगामाया तामाङ तथा जिरी नगरपालिका–४ का ढालवहादुर जिरेल र कामिराम जिरेललाई पक्राउ गरेको हो ।
जिरी नगरपालिका–३ पटासेस्थित घरमा एक्लै बस्दै आएका हुम्बा तामाङ आइतवार आफ्नै घरमा मृत फेला परेका थिए । घरमै मृत फेला परेका हुम्बाको हत्या आशंकापछि उनका जेठा छोराले प्रहरीकोमा जाहेरी दिएका थिए । सोही आधारमा घटनास्थल पुगेको प्रहरीले घटना संकाश्पद रहेको भन्दै अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीले अनुसन्धानको क्रममा छिमेकी दम्पतीलाई पक्राउ गरेपछि जिरी–४ का थप २ जनालाई पक्राउ गरेको हो । तर, स्थानीयले मृतकका बारेमा जानकारी दिने ढालवहादुर र कामिरामलाई समेत पक्राउ गरेर लगिएको बताएका छन् ।
दोलखा प्रहरीका प्रवक्ता, प्रहरी निरिक्षक दाताराम अधिकारीले घटना संकाश्पद रहेका कारण अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताउनुभयो ।