जिरी(दोलखा) । नेपाली कांग्रेस दोलखाले महासमिति सदस्यमा ११ जनाको नाम छनौट गरी पार्टी केन्द्रमा सिफारिस गरेको छ ।
नेपाली कांग्रेस दोलखाले खुल्लातर्फ ५ र खुल्ला महिलातर्फ दुई सहित ११ जना महासमिति सदस्य छनौट गरी पठाएको हो । खुल्लातर्फ पूर्व सभापति तारा बहादुर कोइराला, नेता इश्वर नारायण मानन्धर, सन्तोष पाण्डे, बाबुकाजी बस्नेत र जयराम श्रेष्ठ तथा खुल्ला महिलातर्फ सिर्जना सुवेदी र गीता शिवाकोटी महासमिति सदस्य चयन भएका छन् । यस्तै खस आर्य पुरुषतर्फ भवेन्द्र कार्की, खस आर्य महिलातर्फ रोचना उप्रेती, जनजाति पुरुषतर्फ च्याङा शेर्पा र जनजाति महिलातर्फ मोती मोक्तानलाई छनौट गरिएको हो ।
कांग्रेस दोलखाका सभापति बर्मा लामाले माघ २९ गते महासमिति सदस्य छनौट गरी पार्टी केन्द्रमा सिफारिस गरेपनि सो पत्र आज मात्रै सार्वजनिक भएको छ । सभापति लामाले कांग्रेस दोलखाको जिल्ला अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरु मध्येबाट सर्वसम्मत रुपमा महासमिति सदस्य चयन गरेको बताउनुभएको छ । उहाँले कांग्रेस दोलखाको विभिन्न मिति र चरणमा भएको जिल्ला कार्यसमिति, कार्यसम्पादन समिति, केन्द्रिय सदस्यहरु तथा पूर्व पार्टी सभापतिहरुको संयुक्त बैठकबाट सर्वसम्मत रुपमा महासमिति सदस्य छनौट गरेको दावी गर्नुभएको छ ।
यसैबीच, दोलखा कांग्रेसले महासमिति सदस्य छनौटगरी केन्द्रमा सिफारिस गरेपछि विवाद सुरु भएको छ । महासमिति सदस्यको दावी गरेका चार जना महाधिवेशन प्रतिनिधिले विधान विपरित सिफारिस गरिएको भन्दै पार्टी केन्द्रको निर्वाचन समितिमा उजुरी दिएका छन् । महाधिवेशन प्रतिनिधिहरु उर्मिला कार्की, जयराम श्रेष्ठ, कुमार अधिकारी, गौरव कुमार लामा र प्रभुराम श्रेष्ठले निर्वाचन प्रकृया अवरुद्ध गरी मनोमानी ढंगले महासमिति सदस्य चयन गरिएको भन्दै केन्द्रिय निर्वाचन समतिमा उजुरी दिएका हुन् ।
उनीहरुले महासमिति सदस्य चयनका लागि दोलखा कांग्रेसले गत कात्तिकमा सुचना प्रकाशन गरी मनोनयन दर्ता गराई महासमितिका उम्मेदवारहरुबाट प्रतिव्यक्ति ५० हजारका दरले रकम जम्मा गर्न लगाएको र रकम जम्मा गरेपछि मतदान नगरी निर्वाचन प्रकृया स्थगित गरेको आरोप लगाएका छन् ।