
जिरी(दोलखा) । नेकपा माओवादी केन्द्र जिरी नगरकमिटीको अध्यक्षमा कर्मा शेर्पा पुनः दोहोरिएका छन् ।
आज सम्पन्न तेस्रो नगर सम्मेलनले नगर इन्चार्जमा साङगे शेर्पा र अध्यक्षमा कर्मा शेर्पालाई चयन गरेको हो ।
यसैगरी उपाध्यक्षमा कृष्ण कुमार खत्री, अम्बर जिरेल, नीर कुमार कार्की र रुपलाल लकान्द्री र सचिवमा खेटराज घिमिरे चयन भएका छन् । सम्मेलनले कोषाध्यक्षमा रोमकुमारी समाल जिरेल, सहसचिवहरुमा दातेम्बा शेर्पा, दिनेश पाख्रिन र सुशा जिरेललाई चयन गर्दै ५८ सदस्यीय नयाँ नेतृत्व गठन गरेको हो ।
तेस्रो नगर सम्मेलनले सर्वसम्मत पालिका कमिटि चयन गरेको नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठले जानकारी दिनुभयो ।
३० औं जनयुद्ध दिवस तथा तेस्रो नगर सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो । नेकपा माओवादी केन्द्रले जिरी नगरको भव्य सम्मेलन गर्ने क्रममा एमाले र कांग्रेसबाट आएका नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएको छ । जिरीको ९ वटै वडाबाट ठूलो संख्यामा अन्य पार्टी परित्याग गरी कार्यकर्ताहरु माओवादी प्रवेश गरेका छन् । सम्मेलनलाई भव्य बनाउन र अध्यक्ष प्रचण्डको स्वागतमा लिंकनबजारमा बाजा गाजासहित ठूलो जनलहर उत्रिएका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य गंगा कार्की, केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज विशाल खड्का, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, नेताहरु नरबहादुर पाख्रिन, नविन जिरेल, जिरी नगरपालिका–२ का वडाअध्यक्ष निमपाल्दे शेर्पा लगायतका नेताहरुले लगायतले मन्तव्य राखेका थिए ।