images
images

भोलीबाट जिरी भ्रमण वर्ष सुरु हुँदै, सञ्चारमन्त्रीले उदघाटन गर्ने

जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकामा भोलीदेखि औपचारिक रुपमा भ्रमण वर्ष सन् २०२५ सुरु हुँदैछ ।

सन् २०२५ भर विभिन्न कार्यक्रमको आयोजना गरी जिरी भ्रमण वर्ष मनाउन जुटेको नगरपालिकाले भोली औपचारिक रुपमा उद्घाटन गर्न लागेको हो । जिरी भ्रमण वर्षको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुहुनेछ । भोली जिरीमा हुने कार्यक्रममा सहभागी हुनका लागि आजै मन्त्री गुरुङ दोलखा आइसक्नुभएको छ ।

५० हजार पर्यटक भित्र्याउने र २५ करोड बराबरको आर्थिक क्रियाकलाप गर्ने लक्ष्य राखेको नगरले भ्रमण वर्षको उद्घाटनपछि बाँकी थुप्रै अन्य कार्यक्रमहरु हुने जनाएको छ ।

नगरप्रमुख मित्र बहादुर जिरेलका अनुसार जिरीका पर्यटकीय स्थलहरुको बारेमा समेटिएको प्रचारात्मक भिडियो, ब्रोसर लगायतका सामाग्रीहरु भोलीबाट प्रदर्शनमा आउनेछन् । भ्रमण वर्ष लक्षित पर्यटन गन्तव्य सूचना बोर्ड राखिएको बताइएको छ । भ्रमण वर्षमा कृषि मेला, खेलकुद सप्ताह, गुरास मेला, ढुङगेश्वरी मेला, हनुमन्ते मेला, स्ट्रिट फुड फेष्टिवल लगायतको आयोजना हुनेछ ।

सुस्ताउँदै गएको जिरीलाई फेरी एक पटक पर्यटकीय गतिविधि र आर्थिक क्रियाकलापलाई पुनः स्थापित गराउन भ्रमण वर्ष सन् २०२५ भर हुने कार्यक्रम र गतिविधिले टेवा पुग्ने विश्वास गरिएको छ ।