images
images

निर्माणाधिन खिम्ती–२ जलविधुत आयोजनाको आधा भन्दा बढी काम सम्पन्न

  • ३० फाल्गुन २०७९, मंगलवार १८:२३

जिरी (दोलखा) । दोलखास्थित खिम्ती–२ जलविद्युत आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएको छ ।

पिपुल्स इनर्जी लिमिटेडले निर्माण सुरु गरेको आयोजनाको पछिल्लो डेढ वर्षमा भौतिक प्रगति आधा भन्दा बढी भएको हो । निजी क्षेत्रले निर्माण गरिरहेको ४८ दशमलव ८ मेगावाटको आयोजनाको सुरुङ, विद्युतगृह दोलखाको जिरी नगरपालिका वडा नम्बर ८, ९ र तामाकोसी गाउँपालिकाको वडा नम्बर ७ मा रहनेछ । आयोजनाको सुरुङ निर्माणको काम पनि ५० प्रतिशत सकिएको कम्पनीले जनाएको छ । बाँधको काम समेत हाल तिव्र गतिमा भइरहेको छ । अहिले आयोजनाको बाँध, सुरुङ, विद्युतगृहलगायत सबै क्षेत्रको काम भइरहेको आयोजनाका साइट इन्जिनियर योगेन्द्र थापाले जानकारी दिनुभयोे ।

आयोजनाको मुख्य सुरुङ र विभिन्न स्थानका सहायक सुरुङसहित ८३२३ मिटर पानीमार्ग निर्माण गर्नुपर्छ । त्यसमध्ये मुख्य पानी बग्ने सुरुङ, सार्ज साफ्ट, ठाडो सुरुङ र काम गर्न जाने सहायक सुरुङको ४३३५ मिटर पूरा भएको आयोजनाले जनाएको छ । अहिले ६० मेगावाटको खिम्ती–१ जलविद्युत केन्द्रको बाँधभन्दा करिब तीन सय मिटर माथि विद्युतगृहका लागि जग खन्ने काम भइरहेको छ । खिम्ती खोला किनारमा विद्युतगृहको निर्माण पनि सुरु भएको छ । आयोजनाको काम सबै पूरा गरी दुईवर्षभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत किर्ने सबस्टेसनमा जोडिनेछ ।

आयोजना सम्पन्न गर्न ८ अर्ब ६४ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको नेतृवमा अन्य ९ बैंकले ऋण लगानी गरेका छन् । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड युनिट विद्युत उत्पादन हुनेछ । हिउँदको उत्पादन साढे ४ करोड युनिट र बर्खाको उत्पादन साढे २१ करोड युनिट उत्पादन हुने अनुमान गरिएको छ ।

कम्पनीले सुरुवातमा यो आयोजना ३ वर्षमा सम्पन्न गर्ने गरी इपिसिएफ (इन्जिनियरिङ, खरिद, निर्माण तथा वित्तीय व्यवस्थापन) मोडलमा निर्माण गर्न चीनको च्वङक्विङ वाटर टर्बाइन वर्क (सिडब्ल्युटिडब्ल्यु) कम्पनीलाई जिम्मा दिएको थियो । तर, कोरोना महामारी सुरु भएकाले चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार चीनबाट नेपाल आउन नसकेपछि कम्पनीले नेपालकै हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेको थियो । अहिले नेपाली कम्पनीले नै सबै काम गर्दै आएको छ । हाल सो आयोजनामा दुई सय बढी मजदुरले काम गर्दै आएका छन् ।