images
images

सहकारीमा बेथिती बढेपछि स्थानीय सरकारको चासो, छाता संगठनको पनि सक्रियता बढ्यो

दोलखा । दोलखामा सहकारी क्षेत्रमा विकृति देखिन थालेपछि आर्थिक अपचलन रोक्न स्थानीय सरकार र सहकारीका छाता संगठनहरु सक्रिय बनेका छन् ।

सहकारीको उर्वर भूमि दोलखामा बिस्तारै बिकृतिहरु देखिन थालेपछि त्यसको नियमन र नियन्त्रणका लागि स्थानीय सरकार र सहकारीका छाता संगठनहरु लागिपरेका हुन् । दोलखाका कतिपय स्थानीय सरकारले सहकारी विभाग बनाएर पालिकाभित्रका सहकारीको नियमन सुरु गरेका छन् भने सहकारीका छाता संगठनहरुले स्थानीय सरकारसँग समन्वय गरेर सहकारीमा विकृति आउन नदिन सक्रियता बढाएका हुन् । जिल्ला सहकारी संघ र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले संयुक्त रुपमा सहकारीमा विकृति आउन नदिन यस्तो अभियानलाई अघि बढाएका हुन् ।

तामाकोशी गाउँपालिकाले सहकारी ऐन र नियमावली नैं बनाएर सहकारी क्षेत्रको नियमन तथा प्रवद्र्धनको काम गरिरहेको गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले जानकारी दिनुभयो । सहकारीको ऐन र नियमावली बनाउने दोलखाका स्थानीय सरकार मध्ये तामाकोशी पहिलो पालिका हो । जिरी नगरपालिकाका नगर प्रमुख मित्रवहादुर जिरेलले नगरपालिकामा सहकारी विभागलाई सक्रिय बनाएको र नगरभित्रका सहकारी संस्थाको नियमन सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार जिरी नगरपालिकामा नगरस्तरीय सहकारी सञ्जाल बनेको छ भने सवै सहकारीको विवरण अधावधिक गर्ने काम भइरहेको छ ।

जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद शर्माले सहकारीमा देखिएको विकृति रोक्न अनुगमन, भेला, छलफल, सहकारी सञ्जाल गठन लगायतका गतिबिधिलाई तीब्रता दिएको बताउनुभयो । स्थानीय सरकारलाई सहकारीको अनुगमन, प्रबद्र्धन र विकास गर्ने अधिकार भएकाले अनुगमनमा ध्यान दिन र सहकारी संस्थालाई ऐन, कानुनको परिपालना गरी सफ्टवेयर मार्फत् हिसाव राख्न आव्हान गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।
दोलखाको जिरी नगरपालिका, तामाकोशी र कालिञ्चोक गाउँपालिकामा सहकारी संस्थाहरुको अनुगमन तथा सहकारी सञ्जाल गठन भैसकेको छ । अन्य पालिकामा पनि सहकारी सञ्जाल गठनको तयारी भइरहेको छ ।

दोलखाका कतिपय स्थानीय सरकारले सहकारी विभाग बनाएर पालिकाभित्रका सहकारीको नियमन सुरु गरेका छन् भने सहकारीका छाता संगठनहरुले स्थानीय सरकारसँग समन्वय गरेर सहकारीमा विकृति आउन नदिन सक्रियता बढाएका हुन् । सहकारीको ऐन र नियमावली बनाउने दोलखाका स्थानीय सरकार मध्ये तामाकोशी पहिलो पालिका हो । सहकारी चोरी र नगद अपचलन जस्ता घटना बढ्दै गएकाले यस्ता घटनाले समग्र सहकारी अभियानमा नकारात्मक असर पुगेपछि छाता संगठनको सक्रियता बढेको हो ।

दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्काले सहकारीमा सुशासन, र आर्थिक पारदर्शिता कायम गर्न, आर्थिक अपचलन हुन नदिन सबै पालिकाका सहकारीको अवस्थाबारे बुझ्न जिल्लाका छाता संगठनहरु लागिपरेको बताउनुभयो । उहाँले सहकारी संस्थाहरुलाई विधि विधान अनुसार संचालन गर्ने, नियमित साधारण सभा, लेखापरिक्षण, सम्वन्धित निकायमा प्रतिवेदन बुझाउने र निश्क्रिय सहकारीहरुलाई खारेजी गर्नेसम्मका बिषयमा छलफल चलिरहेको बताउनुभयो ।

सहकारीका छाता संगठनहरुले जोखिमपूर्ण ऋण लगानी नगर्ने, अनुत्पादक क्षेत्रमा लगानी नगर्ने, दैनिक नगदी नोटको विवरण राख्ने, भल्ट र सिसि क्यामेराको व्यवस्था गर्ने, भल्टको विमा गर्नुपर्ने लगायतका निर्देशन पनि दिएका छन् । जिल्लास्थित सहकारीका छाता संगठनहरुले सहकारी संस्था स्वनियमकारी संस्था भएकाले नीति, बिधि र प्रबिधिमा रहेर सहकारी सञ्चालन गर्न सहकारी सञ्चालकहरुलाई आग्रह गरेका छन् । केही वर्ष यता सहकारी चोरी र नगद अपचलन जस्ता घटना बढ्दै गएकाले यस्ता घटनाले समग्र सहकारी अभियानमा नकारात्मक असर पुगेपछि छाता संगठनको सक्रियता बढेको हो ।

सहकारीमा हुने आर्थिक अपचलन र बचतकर्ताको रकम हिनामिनाको जोखिमका कारण दोलखाका स्थानीय सरकार पनि चनाखो बनेका छन् । स्थानीय सरकारले सहकारी विभाग बनाएर सहकारीको नियमन सुरु गरेका हुन् । गत माघ १५ गते दोलखाको मेलुङ गाउँपालिका १ पवटी स्थित सुर्योदय बचत तथा ऋण सहकारी संस्थाबाट ३२ लाख ८७ हजार नगद चोरी भएको थियो । सो घटनामा पूर्व कोषाध्यक्षले आत्महत्या गरेका छन् भने अध्यक्षसहितका संचालक र व्यवस्थापक प्रहरी नियन्त्रणमा छन् । मेलुङ गाउँपालिकाकै एक कृषि सहकारीमा पनि लाखौं अनियमितता भएको घटना सार्वजनिक भएको छ ।