
काठमाडौँ । हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका एक पुरुष ८ वटा फौजदारी कसुर मुद्धाका अभियुक्त रहेको खुलेको छ ।
गुल्मीमा महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का ४८ वर्षीय बुद्धिमान तामाङ ८ वटा फौजदारी कसुरमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो । यसअघि विभिन्न घटनामा संलग्न भई केही मुद्धामा सजाय भुक्तान गरेको र केही मुद्धामा फरार रहेका तामाङ गुल्मी हत्याको घटनासमेत जोड्दा ८ वटा फौजदारी कसुर मुद्धाका अभियुक्त रहेको पाईएको सिआईबीका एसपी तथा प्रवक्ता सुधिरराज शाहीले जानकारी दिनुभयो । उनीविरुद्ध यसअघि नै तीन वटा कसुरमा मुद्धा चलेको थियो भने थप ४ वटा मुद्धामा फरार रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
दाजुभाई मिलेर शृंखलाबद्ध रुपमा लुटपाटदेखि हत्यासम्म गर्ने गरेको पाईएपछि तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को टोलीले ललितपुरबाट पक्राउ गरेको थियो । पक्राउ परेका तामाङमाथि अनुसन्धानका क्रममा उनी हत्यादेखि लुटपाटका मुख्य अभियुक्त रहेको खुलेको हो ।
सिआईबीले तामाङलाई गुल्मीको मुसिकोट नगरपालिका–७ घर भएकी गोपालकुमारी शेरचनको हत्या गरेको आरोपमा पक्राउ गरेको हो । शेरचनको २०७९ साल माघ १५ गते हत्या भएको थियो । सो हत्याको घटनामा प्रहरीले सिन्धुपाल्चोक घर भई काभ्रे बस्ने शिबबहादुर तामाङसहित ३ जनालाई यसअघि नै पक्राउ गरि पूर्पक्षका लागि कारागार चलान गरिसकेको छ । घटनामा मुख्य योजनाकार रहेका तामाङ भने फरार रहेकोमा अहिले पक्राउ परेका हुन् । काम गर्ने बाहना बनाएर गुल्मी पुगेका उनले शेरचनको हत्या गरि करिव १० तोला बराबरको गरगहना लुटपाट गरेको प्रहरीको दावि छ ।
प्रहरीका अनुसार शेरचन हत्याका अभियुुक्त बुद्धिमान पक्राउ परेसँगै उनका अपराधका थप घटनाहरु खुलेको हो । उनीविरुद्ध काभ्रेपलाञ्चोकमा मात्रै चार वटा मुद्धा रहेको पाईएको छ । बुद्धिमानले आफ्नो दाई वीरमान सहितका व्यक्तिहरुसँग मिलेर शृंखलाबद्ध लुटपाट गर्ने गरेको सिआईबीले जनाएको छ ।