images
images

वैतेश्वर–५ मा तरुण दल र युवा संघका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

  • १ बैशाख २०७९, बिहीबार १७:५४

दोलखा । दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल र नेकपा एमालेको भातृ संस्था युवा संघका संयोजक नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेपाल तरुण दल वैतेश्वर गाउँपालिका वडा नम्बर ५ का वडा संयोजक राजेश मिजारलाई आज नेकपा माओवादी केन्द्रका युवा नेता एवम् बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले पार्टी प्रवेश गराउनुभएको हो । लामो समयदेखि कांग्रेसको भातृ संस्था तरुण दलमा क्रियाशिल रहेका मिजारले युवा, दलित लगायत पिछडिएको समुदायको उद्धार माओवादीले मात्रै गर्ने भएकाले आफुले माओवादी रोजेको बताएका छन् । आफ्नो समुदायको मुक्तिका लागि माओवादी केन्द्र रोजेको उनको भनाई छ ।

यसअघि नेकपा एमालेको भातृ संस्था युवा संघ वैतेश्वर ५ का संयोजक र सहसंयोजक लगायतको सिंगो टोली नै माओवादी केन्द्रमा प्रवेश गरेको थियो । युवा संघका संयोजक कृष्ण खड्का, सहसंयोजक लक्ष्मण खड्का लगायतको सिंगो टोली माओवादी केन्द्रमा प्रवेश गरेको हो । उनीहरुलाई पनि मन्त्री खड्काले नै पार्टी प्रवेश गराउनुभएको थियो ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा वैतेश्वरमा अन्य पार्टी परित्याग गरि माओवादी प्रवेश गर्नेहरुको लर्को नै लागेको छ । चैत १८ गते वैतेश्वर गाउँपालिका वडा नम्बर २ गैरीमुदीस्थित थापा गाउँ र बस्नेत गाउँको सिंगो बस्तीका ८५ जना स्थानीय नेपाली कांग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।