images
images

तामाकोशी गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत विहिन, योजना कार्यान्वयनमा समस्या

  • १ बैशाख २०८०, शुक्रबार १७:३४

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत नभएपछि पालिकाको आर्थिक कारोवार एक महिनादेखि ठप्प भएको छ ।

प्रमुख प्रशासकिय अधिकृत नेत्र गिरी गत चैत २ गते सरुवा भएर गएसँगै तामाकोशी गाउँपालिका एक महिना दिनदेखि प्रशासकिय अधिकृत विहिन बनेको हो । प्रमुख प्रशासकिय अधिकृत नभएपछि गाउँपालिकाको दैनिक कामकाज सञ्चालन, योजना सम्झौता, अनुगमनदेखि आर्थिक कारोवार पुर्ण रुपमा ठप्प बनेको छ । एक महिनासम्म प्रमुख प्रशासकिय अधिकृत नहुँदा विशेष गरी विकास निर्माणका योजना प्रभावित भएका छन् । चालु आर्थिक वर्ष सकिन अब तीन महिना मात्रै समय बाँकी रहँदा पालिकामा धमाधम विकास निर्माणका काम भइरहेको छ । तर प्रमुख प्रशासकिय अधिकृत नहुँदा सम्पन्न भएका योजनाको भुक्तानी भएको छैन भने सम्झौता हुन बाँकी योजना सम्झौता हुन सकेको छैन ।

प्रमुख प्रशासकिय अधिकृत गिरीको सरुवा भएसँगै तामाकोशी गाउँपालिकाले निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी आठौैं तहको पशु चिकित्सक कुश बहादुर जिरेललाई दिएको छ । जिरेलले एक महिनादेखि निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाले पनि आर्थिक अधिकार भने दिइएको छैन । पालिकाको सामान्य प्रशासनिक काम निमित्तको भरमा सञ्चालन भइरहेपनि आर्थिक कारोवार ठप्प हुँदा पालिकाको विकास निर्माणमा समेत असर परिरहेको छ । तामाकोशी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा कहाँबाट को आउने भन्ने टुंगो लागेको छैन ।