images
images

दोलखाको पर्यटकीय स्थलहरुमा पर्यटकको घुइचो, हनुमन्तेमा भव्य मेला

  • १ बैशाख २०८०, शुक्रबार १८:२४

जिरी (दोलखा) । दोलखाको पर्यटकीय स्थलहरुमा आज नयाँ वर्षमा पर्यटकको घुइचो लागेको छ ।

जिल्लाको पर्यटकीय एवम् धार्मिक स्थल शैलुङ र कालिञ्चोकमा पर्यटक तथा दर्शनार्थीको घुइचो लाग्नुको साथै हनुमन्तेमा भव्य हनुमन्ते मेला लागेको हो । नयाँ वर्ष मनाउनको लागि दोलखाको पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्य जिल्लाका पर्यटकहरु आएका छन् । केही दिन अघिसम्म सुनसान रहेको दोलखाको पर्यटकीय क्षेत्रको डाँडाकाँडा आज पर्यटकले भरिभराउ देखिएको छ । धार्मिक आस्था राख्ने र हिमशृखला सहितको दृश्यावलोकन गर्न चाहने हजारौं पर्यटकहरु कालिञ्चोक र शैलुङ पुगेका छन् । कालिञ्चोक र शैलुङमा हिउँ पर्ने बेलामा मात्रै नभएर नयाँ वर्षको दिन पनि वर्षेनी पर्यटकको घुइचो लाग्ने गरेको छ ।

केही दिन अघिदेखिनै कालिञ्चोकको होटललजहरु पर्यटकले खचाखच भरिभराउ भएको त्यहाँका होटल व्यवसायिहरुले बताएका छन् । यता, जिल्लाको बैतेश्वर र गौरीशंकर गाउँपालिका तथा जिरी नरपालिकाको सीमामा पर्ने हनुमन्तेमा भने भव्य मेला लागेको छ । विगतमा खासै चर्चामा नरहेको हनुमन्तेमा २०७८ सालमा पर्यटकीय क्षेत्र घोषणा गरेसँगै यो वर्ष पनि भव्य हनुमन्ते मेला लागेको हो । हनुमन्तेमा प्रत्येक वर्षको बैशाख १ गते नयाँ वर्षको दिन मेला लाग्ने गरेको छ ।

कोरोना महामारी लगायतका कारण गत बैशाखमा मेला नलागेपनि यो वर्ष भने मेला भर्न हजारौंको संख्यामा आन्तरिक पर्यटक हनुमन्ते पुगेका छन् । २०७८ सालमा पनि करिब ५ हजार पर्यटक तथा दर्शनार्थी हनुमन्ते पुगेका थिए । यो वर्ष पनि मेलामा झाँक्रीहरुबाट झाँकी नाच प्रर्दशन, सुनुवार र शेर्पा लगायत विभिन्न जातजातीको नाच, शेर्पा श्यार्बो नृत्य, राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती, पञ्चेबाजामा नृत्य प्रस्तुती, स्थानीय दोहोरी प्रतियोगिता, स्थानीय नृत्य प्रतियोगिता लगायतको कार्यक्रम भएको थियो । हनुमन्तेश्वर पर्यटन पूर्वाधार विकास तथा मेला आयोजना समितिको आयोजनामा हनुमन्ते मेला भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ ।

हनुमन्ते मेलाका तस्विरहरुः