images
images

गोकुलगंगाको चालु वर्षको प्रगति विवरण सार्वजनिक, सुशासन कायम गर्ने अध्यक्षको प्रतिवद्धता

जिरी (दोलखा) । रामेछापको गोकुलगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष सञ्चालन भएका विकास निर्माणको उपलब्धी सार्वजनिक गरेको छ ।

गोकुलगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो चौमासिक अवधिसम्म सञ्चालन भएका विकास निर्माणको योजना तथा त्यसको उपलब्धी सार्वजनिक गरेको हो । पालिकाले सार्वजनिक सुनुवाई गरी शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी तथा सडक आयोजना लगायतको क्षेत्रमा भएको उपलब्धी सार्वजनिक गरेको छ ।

जसअनुसार पालिकाको लागि चालु आर्थिक वर्ष कुल ६५ करोड २९ लाख ४६ हजार रकम विनियोजन भएकोमा ३६ करोड ५२ लाख ९० हजार अर्थात ५५ दशमलव ९४ प्रतिशत खर्च भएको देखिएको छ । त्यसमध्ये विकासखर्च पूँजीगततर्फ १४ करोड ४६ लाख ९६ हजार ४ सय १४ रुपैंया अर्थात ४६ दशमलव ०५ प्रतिशत खर्च भएको र चालुतर्फ हालसम्म २२ करोड ५ लाख ९३ हजार ९ सय १४ रुपैंया अर्थात ६५ दशमलव ११ प्रतिशत खर्च भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाले जानकारी दिनुभयो ।

पूर्वाधार विकासमा उपलब्धी

गोकुलगंगा गाउँपालिकाको पूर्वाधार विकासतर्फ चालु वर्ष सञ्चालन भएका योजनालाई हेर्ने हो भने ६५ दशमलव ९३ प्रतिशत भुक्तानी भइसकेको छ । यो वर्ष पूर्वाधार विकासका ३ सय १७ वटा योजना सञ्चालन भएकोमा २ सय ९ योजनाको काम सम्पन्न भई भुक्तानी भइसकेको पालिकाले सार्वजनिक गरेको विकास प्रगति विवरणमा उल्लेख छ । कुल योजनामध्ये प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका ३० योजना रहेकोमा २० वटाको काम सकेर भुक्तानी भएको छ । अब चालु वर्ष सकिन ३ महिना बाँकी रहँदा पालिकाले २६ योजनाको सम्झौता गरी कार्यान्वयन गर्नुपर्ने देखिएको छ । साथै, पालिकामा ठेक्का प्रकृया मार्फत सञ्चालन हुने थप ११ वटा आयोजनाको काम अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनुभयो । उहाँका अनुसार पूर्वाधार विकास विभाग, संघीय समपुरक अनुदान, संघीय विशेष अनुदान, प्रदेश समपुरक अनुदान, प्रदेश वित्तीय समानिकरण अनुदान, प्रदेश विशेष अनुदान र गोकुलगंगा गाउँपालिकाको समेत आन्तरिक स्रोतबाट कार्यान्वयन हुने ११ वटा आयोजनाहरु ठेक्का व्यवस्थापन भई निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

जसअनुसार सुनकोसी कन्ट्रक्सन नेपालले ठेक्का हात पारेको गाउँपालिकाको कार्यालय भवन निर्माणको कार्य भइरहेको छ ।यसैगरी, बुर्के टगमदेउराली सडक स्तरोन्नतिको लागि चालु वर्ष ८० लाख ६३ हजार रकम विनियोजन भएकोमा काम भइरहेको तथा ९४ लाख २८ हजार बजेटबाट भिमसेनथान ललिवाकु लुते फर्पु वडा भवन सडक स्तरोन्नति, एक करोड ५० लाख विनियोजन भएको एक घर एक धारा खानेपानी निरन्तरताको लागि सामाग्री खरिद गरिएको, ८० लाखमा प्रधानमन्त्री रोजगार साझेदारी कार्यक्रम अन्तर्गत जाली खरिद, ६० लाख बजेट विनियोजन भएको ज्यामकिरी आधारभूत विद्यालय भवन कम्पाउण्ड निर्माण तथा फर्किचर व्यवस्थापन, ५० लाखको भित्तरीसिस्नेरी लिसेखोला–उमाकुण्ड गाउँपालिका जोड्ने सडक, ३ करोड बजेट विनियोजन भएको धौलेचाके–फापरबारी–कोश्याङखर्क–जट्टापोखरी पाँचपोखरी पर्यटकीय सडक स्तरोन्नति, ७५/७५ लाखको लागतमा भिमशेनथान आधारभुत विद्यालयको विद्यालय घेराबार तथा फर्निचर निर्माण र फर्पु माविको विद्यालय पहिरो नियन्त्रण तथा ५० लाखको लागतमा भीमसेनथान क्षेत्री गाउँ ओख्रे धारापानी सडकको काम भइरहेको पालिकाले जनाएको छ । यी आयोजनाहरुको ठेक्का मार्फत सम्झौता भई काम भइरहेको हो । जसमध्ये केही योजनाको काम धमाधम भइरहे पनि केही योजना अन्तिम चरणमा पुगिसकेको अवस्थामा रहेको बताइएको छ ।

आन्तरिक आम्दानी कति ?

गोकुलगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष १० करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ । तर, दोस्रो चौमासिकसम्म २ करोड ५४ लाख ५० हजार ५ सय ११ रुपैंया प्राप्त गरेको छ । हालसम्मको राजस्व विवरण हेर्दा पालिकाले यो वर्ष लक्ष्य भन्दा धेरै कम आम्दानी गर्ने देखिएको छ । अहिलेसम्म सो पालिकाले सबैभन्दा बढी जलविद्युत रोयल्टीबाट एक करोड ३४ लाख रुपैंया आम्दानी गर्दा सबैभन्दा कम विभिन्न सिफारिस प्रमाणीतबाट ९९ हजार १ सय रुपैंया प्राप्त गरेको छ ।
गोकुलगंगा गाउँपालिकाले चालु वर्ष सञ्चालन भएका विकास प्रगति र आम्दानीको अवस्था मात्रै नभएर पालिकाले लिएको निति, सेवा सुविधा र अघि सारिएका विभिन्न कार्यक्रमहरु तथा गतिविधिको बारेमा जानकारी गराएको छ ।

अध्यक्ष खड्काको धारणा र योजना

कार्यक्रममा पालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले आफुहरु पालिकाभरका सरकारी तथा गैरसरकारी संघ संस्था तथा कार्यालयहरुबाट हुने सेवा प्रवाहमा नमिलेका कुराहरुलाई व्यवस्थित गरेर अघि बढ्न कटिवद्ध रहेको जानकारी दिनुभयो । उहाँले सुशासन महत्वपूर्ण पाटो भएकाले सुशासन प्रभावकारी ढंगले बनाएर नीतिगत कुरालाई पछ्याउँदै परिणाममुखी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । एक पटक थालिएको विकास निर्माण तथा योजनालाई पुनः भत्काउने नभई वर्षाेँवर्षसम्म टिक्ने दिगोे विकासमा आफुहरु केन्द्रित रहेको खड्काको भनाई छ ।

साथै बहुवर्षीय योजना अन्तर्गत बागमती प्रदेश सरकारबाट रामेछापमा ५ वटा योजना परेको बेला २ वटा योजना आफ्नो पालिकामा ल्याउन सफल भएको र विस्तारै विकासले फड्को मार्ने क्रममा रहेको अध्यक्ष खड्काले बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी जनतासामु पालिकाको विकास प्रगतिको अवस्थाबारे जानकारी गराइरहँदा स्थानीय नागरिकहरुबाट जनगुनासो र सुझाव पनि आएको छ । त्यसको जवाफ दिने क्रममा अध्यक्ष खड्काले हाल जुनसुकै स्तरको नागरिकहरुले पनि अनुदान पाइरहेको अवस्थामा आगामी वर्षदेखि गरिबीको वर्ग र अवस्था छुट्याएर त्यही अनुसार अनुदान वितरण हुने बताउनुभयो ।

यस्तै, उपाध्यक्ष उषादेवी कार्कीले आफूहरू निर्वाचित भएर आएपछि धेरै कुरामा सुधार भइरहेको भन्दै आगामी दिनमा विकास निर्माणमा अझ शसक्त भएर लागिपर्ने बताउनुभयो ।