images
images

काठमाडौंको मखनटोलमा आगलागी, एक महिलाको मृत्यु

  • ३१ बैशाख २०८२, बुधबार ०९:०९

काठमाडौं । काठमाडौंको मखनटोलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको हो । तर महिलाको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिलराज बोहराले जानकारी दिनुभयो । सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो  । आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा सल्किएको छ । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिग भई आगलागी भएको हो  ।

आगलागी भएको घरमा रहेकाहरूको उद्धार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् । सुरक्षाकर्मी र दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।