images
images

बागमती प्रदेश सरकारले भोली आगामी आर्थिक वर्षको बजेट ल्याउने, आज पाँच वटा प्रतिवेदन पेश हुँदै

  • ३१ जेष्ठ २०७९, मंगलवार ०८:५०

हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सावर्जनिक गर्नु एकदिन अघि प्रदेशसभा बैठक बस्न लागेको हो । आज दिउँसो २ बजे बस्ने बैठकको ६ वटा कार्यसुची रहेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । आज बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ भने प्रदेश मामिला समितीका सभापति माधव पौडेल, अर्थ तथा विकास समितीका सभापति नारायण बहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिती सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितीका सभापति रमा आलेले आफ्नो समितीको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसुची रहेको छ ।

यस्तै आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मरकट्टेलले आर्थिक सर्वेक्षण २०७८÷७९ पेश गर्नेहुनेछ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट असार १ गते ल्याउने तयारी छ । भोली अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारको बजेट प्रस्तुत हुनेछ ।