हेटौंडा । बागमती प्रदेशका मन्त्रीहरुले स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गरेका छन् ।
बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयमा आज एक कार्यक्रमको आयोजना गरी नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका नगरपालिका/गाउँपालिकाका प्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना दिइएको हो । नेकपा माओवादी केन्द्रको तर्फबाट बागमती प्रदेशमा २७ जना प्रमुख पदमा निर्वाचित भएका छन् भने ३० जना उपप्रमुख गरी ५७ जना निर्वाचित भएका थिए । जनप्रतिनिधिहरुलाई नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मरकट्टेल र वन तथा वातारणमन्त्री विशाल खड्काले स्वागत, सम्मान तथा बधाई ज्ञापन गर्नुभएको छ । यस्तै सामाजिक विकासमन्त्री कुमारी मोक्तान, युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दहालले पनि स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई दिनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मरकट्टेलले स्थानीय तहले गर्ने कामहरुमा प्रदेशसँग पनि समन्वय गर्न निर्देशन दिनुभएको छ । यस्तै वन तथा वातारणमन्त्री विशाल खड्काले जनप्रतिनिधहरुलाई जनतासँग प्रत्यक्ष जोडिएर काम गर्न आग्रह गर्नुभयो ।












